खाद्य कम्पनीको लापरवाही: कुकरले टोक्दा मरे दसैंमा ल्याइएका साढे ४ लाख मूल्यबराबरका २० च्याङग्रा



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्नका लागि ल्याएको २० वटा च्याङग्रा कुकुरबाट मारिएका छन् । कम्पनीको लापरवाहीका कारण ४ लाख ४० हजार मूल्यबराबरको २० वटा च्याङग्रा कुकुरको टोकाइबाट मरेका हुन् ।

कम्पनीले दसैंमा बिक्री गर्नका लागि ५ सय ४२ वटा च्याङग्रा खरिद गरेको थियो । चाडवाडको क्रममा ४ सय ९५ वटा च्याङग्रा बिक्री भए पनि ४७ च्याङग्रा बिक्री भएका थिएनन् ।

बिक्री नभएको ४७ वटा च्याङग्रामध्ये २० वटा च्याङग्रालाई कुकुरहरुले घेरावन्दी गरी थापाथलीस्थित कम्पनीको कार्यालयमा बिहीबार मध्य राति मारेका हुन् । सुरक्षाका लागि खटिएका कर्मचारीको लापरवाहीका कारण च्याङग्राहरु मारिएका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दका अनुसार बिहीबार मध्य राति थापाथलीको ट्रेड टावरतर्फबाट ५ वटा कुकुर छिरेको थियो । ति कुकुरहरुले पालैपालो च्याङग्राको घाटीमा टोक्दै घाइते बनाएको थियो ।

गम्भीर घाइते भएका २० वटा च्याङग्रा तत्कालै मरेका थिए । यस्तै कुकुरको टोकाइबाट १४ वटा अन्य च्याङग्रा पनि घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था नाजुक रहेको बताइएको छ । १३ वटा च्याङग्रा भने स्वस्थ्य रुपमा रहेको कम्पनीले जनाएको छ ।

‘सीसीक्यामेरा हेर्दा त्यहि वेला सुरक्षाका लागि खटिएका सुरक्षा गार्डसमेत निदाएको जानकारी प्राप्त भएको छ,’ चन्दले भने,‘यसका सुरक्षार्थमा खटिएका सुरक्षा गार्डको ठूलो कमजोरी भेटिएको छ । हामी छानबिन गर्दैछौं ।’

चन्दकाअनुसार २२ हजार रुपैयाँका दरले २० वटा च्याङग्राको ४ लाख ४० हजार रुपैयाँको क्षति भएको छ ।
दसैंमा बिक्री हुन नसकेको च्याङग्रा बिक्री गर्न मूल्य घटाएर पटक पटक टेण्डर आह्वान गरिए पनि ४७ वटा बिक्री हुन सकेको थिएन् । पछिल्लो समयमा च्याङग्राको कूल मूल्यलाई ४ भागमा बाँडेर किस्तावन्दीमा पनि खरिद गर्न सकिने सुविधा कर्मचारीहरुको हकमा ल्याइए पनि ति च्याङग्राहरु खरिद गर्न कसैले चासो नदेखाएको चन्दको भनाइ छ ।

थापाथलीस्थित बिक्री केन्द्रमा बाँसको घेरा बनाएर च्याङग्राहरु राखिएको थियो । यसअघिका दसैंमा पनि बिक्री हुन नसकेको खसीबोकाहरु मारिएको घटनाहरु पटक पटक दोहोरिएको थियो ।


क्लिकमान्डु