त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

161
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आह्वान भएको छ ।

सरकारले एक सूचना प्रकाशित गर्दै कुलपतिबाट त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्त गर्नका लागि त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धित कार्यविधि २०८० बमोजिम उम्मेदवार छनोट गरी सिफारि गर्न दरखास्त आह्वान गरिएको हो ।

उपकुलपति नियुक्ती गर्नका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिबाट कार्यविधि स्वीकृत गरिएको थियो ।

सूचनाकाअनुसार स्नात्तकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, प्राध्यापकको सुरु नियुक्तपत्रका प्रमाणित प्रतिलिपि, विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको प्रमाणित प्रतिलिपि तथा बढिमा ३ सय शब्दमा विश्वविद्यालयसम्ब्न्धि सोचपत्र र बढिमा ५ हजार शब्द रहेको चार वर्षे कार्ययोजनासहित योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

सूचना प्रकाशित भएको १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यविधिको अनुसूचिमा रहेको दरखास्तको ढाँचामा दरखास्त पेश गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।