जनताले मलाई आउ देश बचाउ भनिरहेका छन् : पूर्वराजा



भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले आफूलाई आउ देश बचाउ भनिरहेको बताएका छन् । बिहीबार भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले आफू जहाँ पुगे पनि देश बनाउ र देश बचाउन आउ भनेको जनआवाज सुनेको उनले बताए ।

‘म जता जाउँ जहाँ पुगौं जनआवाज उठेको सुन्छु, मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ, देशको सभ्यता र समृद्धि बढाउँ’ उनले भने,’यहाँ खडा भएर म भन्छु म बोलिरहेछ, बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकाँक्षा पोखिरहेछु ।’

आफू देश छाडेर कहिँ नगएको र सदा नेपालीको साथमा नेपालभित्रै रहेको उनले बताए । नेपालीहरुको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको उनले बताए ।

आज देश जर्जर भएको उनले बताए । बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवाजनशक्ति विदेशिएको उनको भनाइ छ ।

‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो । यस्तो अवस्थाको अन्त हुनु पर्दछ,’ पूर्वराजाले भने, ‘देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेको छ । देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ ।’

वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति रहेको उनले बताए ।

‘हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रो राष्ट्रको अस्तित्व माथि आज खिया लाग्दै गइरहेको छ हामी झन परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं । हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन’ शाहले भने ।

नेपालमा हुने राजनीतिक र शासकीय परिवर्तनमा विदेशी शक्तिको टेको चाहिने भाष्य बनिरहेको भन्दै उनले नेपालीहरुकै बलबुतामा सबै भएको उल्लेख गरे ।

‘नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँ भित्री तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने एउटा भाष्य पनि हामी कहाँ छ तर हामीलाई लाग्छ नेपाल राष्ट्रको एकीकरण देखि आधुनिकीकरण सम्मका यावत प्रकृयामा हामी नेपालीहरु कै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन्,’ शाहले भने, ‘त्यसैले के गर्दा र के कस्तो विधि व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ त्यो हामी आफैंले तय गर्ने विषय हो । हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनु पर्दछ भन्ने हामीलाई लाग्छ ।’

शाहले सबै एकै ठाउँमा उभिएर राम्रो मार्गचित्र बनाउनु पर्ने भन्दै शाहले भने, ‘सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौं, देश हामीले नै बनाउने हो !’

हामी मात्र ठीक अरु बेठीक, हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द, विग्रह, विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिड्दा सबैको भविष्य राम्रो भएको उनले बताए ।


क्लिकमान्डु