बंगलादेशबाट काठमाडौंसम्म बस सञ्चालनको तयारी



काठमाडौं । बंगलादेश सरकारले नेपाल र भारतको चार नयाँ रुटमा अन्तर्राष्ट्रिय यात्रुवाहक बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

बंगलादेशले करिब ८ सय १३ किलोमिटर दूरीको ढाका-काठमाडौं अन्तर्राष्ट्रिय बस सञ्चालन गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको हो ।

सन् २०१५ को जुनमा बंगलादेश, भुटान, भारत र नेपालबीच सोझो बस सेवा सञ्चालन गर्ने बिषयमा ‘मोटर मेहिकल’ सम्झौता भएको थियो ।

उक्त सम्झौताअनुसार बंगलादेशले नेपाल र भारतमा चाँडै बस सेवा सञ्चालन गर्ने तयारी गरेको बंगलादेशको दैनिक अखवार ‘द डेली सन’ मा जनाइएको छ । भुटानको संसद्ले उक्त सम्झौता अनुमोदन नगरेका कारण तत्काल बस सेवा नेपाल र भारतसँग मात्र गर्ने बंगलादेशको तयारी छ ।

तुलनात्मक रुपमा बसमा यात्रा गर्दा सस्तो हुने भएकाले बंगलादेश सडक यातायात निगम(बीआरटीसी) ले नेपाल र भारतको चार नयाँ रुटमा अन्तर्राष्ट्रिय बस सञ्चालन गर्ने तयारी गरेको हो ।

यसअघि बंगलादेश सरकारले २०७५ बैशाख १२ गते काठमाडौं-ढाका बस सेवा र २०७६ मंसिर २६ गतेदेखि ३० गतेसम्म ढाका-दार्जिलिङ बस सेवाको परीक्षण यात्रा गरिसकेको थियो ।

नेपाल सरकारले उक्त बिषयमा ‘लेटर अफ एक्सचेन्ज’ अनुमोदन गरेपछि करिब ६ महिनाभित्र नियमित रुपमा उक्त त्रिदेशीय बस सेवा सञ्चालन हुने अपेक्षा गरिएको थियो । तर कोभिड महामारीका कारण उक्त योजना त्यतिकै रोकिएको थियो ।

बंगलादेशले ढाका-काठमाडौंसहित चटगांउ-कोलकात्ता, ढाका-गान्तोक-दार्जिलिङ र बारिसाल-कोलकात्ताबीच सोझो यात्रुवाहक बस सञ्चालनको तयारी गरेको उक्त समाचारमा उल्लेख गरिएको छ ।

यसअघि बंगलादेशबाट भारतको चार शहरमा सोझो बस सेवा सञ्चालन हुँदै आएको थियो । जसअनुसार ढाका-कोलकात्ता, त्रिपुरा-ढाका-कोलकात्ता, ढाका-सिलोड-गुवाहाटी र ढाका- खुलना-कोलकात्ताबीच बस सेवा जारी थियो ।

बंगलादेशको यातायात निगमले नयाँ रुट प्रस्ताव सडक यातायात तथा पुल मन्त्रालयमा पठाएको बताइएको छ । उक्त प्रस्ताव अन्तिम निर्णयका लागि हाल परराष्ट्र मन्त्रलायमा विचाराधीन रहेको बताइएको छ ।

ढाका-काठमाडौं बस रुटका लागि दुवै देशबीच संवाद भइरहेको प्रक्रिया निकै अघि बढेको बीआरटीसीका अध्यक्ष मो ताजुल इस्लाम बताएको समाचारमा उल्लेख गरिएको छ ।

पूर्वी नेपालको नाकाबाट बंगलादेशको सीमा नाका करिब ४० किमिमात्र रहेको छ ।


क्लिकमान्डु