भारतीय विदेशमन्त्रीले राष्ट्रपतिदेखि दलका शीर्ष नेतासम्मलाई भेट्ने, यस्तो छ कार्यक्रम



काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री एस जयशंकर राजनीतिक भेटवार्तामा व्यस्त हुने भएका छन् ।

नयाँ दिल्लीबाट भारतीय सेनाको विशेष विमानमार्फत् उनी बिहान १० बजे त्रिभुवन विमानस्थलमा उत्रिनेछन् ।

दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुनुअघि नै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेललाई भेट्न उनी बिहान ११ बजे शितलनिवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेटघाट गर्ने छन् ।

दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जयशंकरको भेटवार्ताको समय निर्धारण गरिएको छ ।

आजै बेलुका परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् ।

जयशंकर शुक्रबार बिहान ८ बजे पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाने कार्यक्रम छ । उनी भोलि १२ बजेपछि नयाँदिल्ली फर्किनेछन् ।


क्लिकमान्डु