पोल्ट्री दिवसका अवसरमा ‘चिकेन एण्ड एग फेस्टिवल’



चितवन । एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो ।

यस वर्ष ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ पोल्ट्री दिवस मनाइएको हो । महोत्सवका अवसरमा कुखुराको मासु र अण्डा निःशुल्क वितरण गरिएको थियो ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको मासु र अण्डाको महत्व बुझाउन नसक्दा खपत बढाउन नसकिएको बताए । कुखुराको मासु र अण्डाको महत्व विद्यालय स्तरबाट बुझाउन सके फलदायी हुने उनको भनाइ थियो ।

मञ्चका अध्यक्ष रघुनाथ भट्टले पछिल्लो समय देखिएको आर्थिक मन्दीले कुखुरा व्यवसायीहरुमा असर पारेको बताए। यो समयमा कुखुराको मासु र अण्डाको प्रयोग बढाउन सके केही हदसम्म राहत पुग्ने उनले बताए । स्वास्थ्यका लागि सेतो मासु फलदायी हुने जनाउँदै उनले सबै खाले रोगीका लागि उपयुक्त हुने अण्डाको महत्व बुझाउन जरुरी रहेको पनि बताए ।

दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमको समेत समापन गरिएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अण्डा र कुखुराको मासुको महत्व बारेमा जानकारी गराइएको थियो ।

यस क्रममा २६ सरकारी विद्यालयका एक हजार नौ सय ४७ जना विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे जानकारी गराइएको छ । महोत्सव सहित दिवसका अवसरमा आज (मंगबार) रक्तदानसमेत गरिएको छ ।

कार्यक्रमअघि मञ्चको कार्यालय भरतपुरबाट कार्यक्रम स्थलसम्म प्रभातफेरीसमेत गरिएको थियो । विसं २०१७ पुस १७ गते बाराको परवानीपुर सेन्ट्रल ह्याचरीको शुभारम्भपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुआत मानिँदै आएको छ । यही मितिलाई पोल्ट्री दिवसका रुपमा मनाउँदै आइएको छ ।


क्लिकमान्डु