गृहमन्त्रीले मन्त्रीको कमजोरी बताएपछि ज्वालाको जवाफ: प्रदर्शनकारीले गाडी घेर्दा २० मिनेटसम्म सुरक्षाकर्मी पुगेनन्



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको दाबी गरेका छन् ।

सोमबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले गत शुक्रबार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले सो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको दाबी गरेका हुन् ।

रोजगार अनुमति प्रणाली(ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले शुक्रबार प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । अवस्थालाई नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा दुई जना युवाहरुको ज्यान गएको थियो ।

उक्त घटनाबारे कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रिय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिनपनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताए ।

आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरु बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भए पनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको उनले दाबी गरे ।

आफूहरुलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उनको भनाइ छ । आफूहरु निर्दोष हुँदाहुँदै पनि आरोपित गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘मन्त्रालयको बैठकमा सहभागि भएर फेरि बैठकमा फर्किने उद्देश्यले म त्यो पार्टी प्यालेस बैठक कक्षबाट बाहिर निस्केँ । बाहिर निस्किनुभन्दा अगाडी बालकुमारी क्षेत्रमा के अवस्था छ ? त्यहाँ डिस्टर्ब छ कि छैन ? अथवा परिस्थिति के छ ? रुटको अवस्था के छ ? त्यो हामीलाई केही पनि थाहा भएन । हामी सामान्य अवस्थामा बाहिर निस्कियौँ । निस्किदाखेरी पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी नभएपछि हामी सामान्य रुपमा बाहिर निस्कियौँ ‘ उनले भने ।

सडकमा आएपछि आफूले अवरोध भएको महसुस गरेको र त्यसबारे छलफल भएको उनले सुनाए ।

‘हामी निस्किसकेपछि बिचमा अलिकति अगाडी बढिसकेपछि पारीपट्टी केही डिस्टर्ब हामीले महशुस गर्‍यौँ । अब के गर्ने भन्ने त्यहाँ हाम्रो बीचमा छलफल भयो । अगाडी बढ्न पनि नसकिने पछाडी फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्‍यौँ । मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरु आएर गाडी रोक्ने प्रयास भयो । त्यहाँ पीएसओले सम्झाउने प्रयास गरे । र प्रदर्शनकारीहरु रोक्ने मध्येकै पनि कतिपय व्यक्तिहरुले यो गाडीलाई अगाडी जान दिउँ भनेर निकै धेरै प्रयास पनि गरे । त्यति हुँदाहुँदै पनि भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा झन उत्तेजित होला भीड भन्ने हिसाबले म त्यो गाडीबाट निस्केर फेरी बैठकस्थलमै फर्किइहालेँ ।’

आफू त्यहाँ रोकिँदा अवस्था तनावपूर्ण होला भनेर फर्किइहालेको र त्यसपछि आफूलाई केही थाहा नभएको उनले बताए ।

गाडी सडकमा रोकिएपछि पीएसओले सुरक्षा निकायमा तत्काल सुरक्षाकर्मी पठाउन आग्रह गरे पनि २०/२२ मिनेटसम्म कोही नआएको र त्यसपछि प्रदर्शनकारीले आगो लगाएको उनले बताए ।

‘हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पीएसओले बारम्बार यहाँ गाडी सडकमा छ । प्रदर्शनकारीहरुले घेरिरहेका छन् । छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्‍यो भनेर उसले कम्युनिकेशन गरिरहेका थिए । त्यति हुँदा पनि करिब २०/२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मीहरु पुगेनन् । त्यसपछि प्रदर्शनकारीहरुले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ’ उनले भने ।

तर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएको आरोप लगाएका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको बताए ।

मन्त्रीको गाडी जलाएको र सुरक्षाकर्मीको गोली लागेर ज्यान गएको घटना प्रकरणमा संसदीय समितिले दुई मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ । बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाबारेमा छानबिन गर्न निर्देशन दिएको हो ।


क्लिकमान्डु