बालकुमारी घटनाबारे गृहमन्त्रीको प्रश्न: भीड देख्दादेख्दै मन्त्रीज्यू किन गएको ?



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले घटनामा ईपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे ।

आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको उनको भनाइ छ । उनले मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गरेको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट निकालिएको बताए । उनले फायरिङपछि मात्रै गाडी जलेको देखिएको बताए ।।

गृहमन्त्रीले यसो भने

त्यहाँ आवेदन हामीले पनि पाउनुपर्छ भनेर प्रदर्शन गर्ने, माग राख्नेहरु भइसकेपछि स्थिति के छ भनेर हाम्रो गृह मन्त्रालयको शान्ति सुरक्षा शाखाको प्रमुखले ईपीएस कार्यालयको कार्यालय प्रमुखलाई त्यो दिन प्रारम्भ बिहानमा बोलाएर स्थितिको बारेमा के छ बताउनुस् भनेर भनेका थिए । कसरी हल गर्ने सोच्नुभएको छ भन्दा केही छैन, तीन बजेसम्म बस्छन्, जान्छन् भनेर हल्का जवाफ दिनुभएको रिपोर्ट छ ।

हामीले बिहान नै बोलाएका थियौँ । त्यो पनि हामीलाई जवाफ उपयुक्त लागेको छैन । त्यसपछि मन्त्रीज्यूको त्यहीँ बालकुमारी नजिकै पार्टीको बैठक रहेछ, त्यो बैठकबाट मन्त्रालय जान्छु भनेर निस्किनुभएछ, त्यही बाटोबाट आउनुभएछ । प्रारम्भिक निस्कर्ष के हो भने त्यो बाटोबाट त्यस्तो बेलामा मन्त्रीज्यू किन आउनुभयो होला ? हाम्रो सुरक्षाकर्मीहरु आर्मीको बडिगार्ड, पीएसओ छ, त्यसका बाबजुद उहाँ त्यो बाटोबाट किन आउनुभयो होला । किनभने सामान्यतया पिएसओले बाटो चेक गर्छ, रुट क्लियर छ की छैन भनेर । तर उहाँ आर्मीको सेक्युरिटी गार्ड र नेपाल प्रहरीको पीएसओसहित त्यो बाटो जानुभयो । हाम्रो भनाइ उहाँहरुले किन रोक्नुभएन होला । सूचना किन दिनुभएन होला । त्यसले घटनालाई अर्को मोडतिर लैजान क्याटलिस्टको भूमिका खेलेको छ । त्यो भन्दाअघि अलिअलि लाठी चार्ज गरेको छ । मन्त्रीज्यूको गाडी आइसकेपछि मन्त्रीज्यू बाहिर निस्किएर सवालजवाफतिर पनि लाग्नुभएछ । त्यसपछि त्यो भएन भनेपछि धकेलाधेल भएको भिडियोमा देखिन्छ । त्यसपछि मन्त्रीज्यूलाई नेपाल आर्मीको बडिगार्डले लिएर जानुभयो र बैठक भएको ठाउँमा पुग्नुभयो । मन्त्रीको गाडी घेराबन्दीमा परेको भनेपछि फिल्डको कमाण्डरहरु त्यो दिशातिर जान खोजे, त्यही क्रममा गोली प्रहार भएको देखिन्छ । एक जनाको गोलीद्वारा घटनास्थलमा लडेपछि पाटन लगेको देखिन्छ र अर्को त्यहीँ निलडाम देखिन्छ, ग्यास वा अरु हतियारले लागेको के हो छानबिन समितिले निष्कर्ष निकाल्नेछ, फायरिङपछि मात्रै गाडी जलेको देखिन्छ ।


क्लिकमान्डु