कृषि सामाग्रीले माग्यो प्रवन्ध सञ्चालक



काठमाडौं । रसायनिक मल आपूर्ति गर्ने सरकारी संस्थान कृषि सामग्री कम्पनीले रिक्त रहेको प्रवन्ध सञ्चालकका लागि आवेदन खुलाएको छ ।

कृषि सामग्री कम्पनीले सूचना जारि गर्दै प्रवन्ध सञ्चालक नियुक्त गर्न आवेदन खुलाएको हो । मन्त्रिपरिषद्को सिफारिशमा प्रवन्ध सञ्चालक नियुक्त गर्ने व्यवस्था कृषि सामग्री कम्पनी लिमिटेडको कर्मचारी प्रशासन विनियमावलीमा उल्लेख छ । प्रवन्ध सञ्चालकको पदावधि ३ बर्षको लागि तोकिएको छ ।

कम्पनीले कारोबार गर्ने बिषयसँग सम्बन्धित विषयमा कम्तिमा स्नातककोपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा वा कम्पनी व्यवस्थापन सम्बन्धी काममा कम्तिमा १० बर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ ।

यस्तै अर्थ, वित्त, व्यवस्थापन, लेखा, तथ्यांक, वाणिज्य, व्यापार प्रशासन वा कानून बिषयमा कम्तिमा स्नाकोपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रमा कम्तिमा १० बर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

कम्पनीका तत्कालिन प्रवन्ध सञ्चालक नेत्र भण्डारी १ अर्ब ५० करोड रुपैयाँको रसायनिक मल प्रकरणमा मुछिएपछि २०७९ फागुन २९ गतेदेखि उक्त पद रित्त थियो । उनको स्थानमा कम्पनीको सञ्चालक समितिले बिष्णुप्रसाद पोखरेललाई कायममुकायम प्रवन्ध सञ्चालकको जिम्मेबारी दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मल प्रकरणमा भण्डारीसहित मल आपूर्ति कम्पनी र सर्वेयरविरुद्ध विगो र सजायको माग दावी गर्दै तत्कालिन समयमा विशेष अदालतमा मुद्दा दायर गरेका थियो ।

विशेष अदालतले मल प्रकरणमा कर्मचारीलाई सफाई दिएर सर्वेयर र आपूर्तिकर्ता कम्पनीलाई मात्रै दोषि करार गरेको थियो । विशेष अदालतको फैसला चित्त नबुझेपछि आयोग अहिले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।


क्लिकमान्डु