थुप्रै सहकारीमा समस्या देखिएको छ तर सबैलाई खराब भन्न मिल्दैनः राना



काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै सहकारी संस्थाहरु खराब नरहेको बताएकी छन् ।

तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको सम्पन्न २४औँ साधारणसभाको उद्घाटन समारोहमा उपसभामुख रानाले पछिल्लो समय थुप्रै सहकारीमा समस्या देखिएको भए पनि सबै सहकारी खराब छन् भन्न नमिल्ने बताइन् ।

तरकारी फलफूल साकोसका आर्थिक सूचकांक र गतिविधिबारे अध्ययन गरेपछि उनले सुशासनबाट चलेका यस्ता सहकारी पनि रहेको तर्क गरेकी हुन् ।

कालिमाटी तरकारी बजारका व्यवसायीहरुले संचालन गरेको तरकारी फलफूल साकोसबारे आफू राम्रो जानकार रहेको भन्दै उनले उक्त सहकारी सुशासनमा संचालन भइरहेको आफूले पाएको बताइन् ।

तरकारी बजारका व्यवसायीले निःशुल्क उपलब्ध गराउने तरकारीका कारण कोभिड १९ को महामारी चलेका बेला आफूले दुई वर्षसम्म लाखौँ नागरिकलाई खाना खुवाउन सकेको स्मरण गरिन् ।

त्यसरी सेवा दिइरहेका व्यक्तिहरु मिलेर चलेको सहकारीले आफ्ना सेयर सदस्यहरुलाई पनि धेरै किसिमका सेवा दिएको आफूले पाएको उनको भनाइ थियो ।

हाल आफू विभिन्न अध्यादेशहरुको अध्ययनमा व्यस्त रहेको भन्दै उनले सहकारी अभियानलाई अझ बढी आफ्ना सेयर सदस्यहरुको आर्थिक जीवनस्तर उकास्ने माध्यम बनाउनुपर्ने धारणा राखिन् । उनले सहकारी साक्षारता, आर्थिक साक्षारता वृद्धिमा काम गर्न पनि सुझाव दिइन् ।

कार्यक्रममा सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले तरकारी फलफूल साकोसको आर्थिक विवरणको सरसर्ती अध्ययन गर्दा सुशासनमा संचालन भइरहेको आफूले पाएको बताए । आफू नियमनकारी निकायको प्रतिनिधि भएको नाताले आफूले सहकारीभित्रका विकृति सुधारका निम्ति प्रयास गरिरहेको भन्दै उनले अझ बढी सदस्यमुखी बन्न सुझाव दिए ।

मुलुकको अर्थतन्त्रका तीनमध्ये एक खम्बा भए पनि सहकारी संस्थाहरुमा समस्या देखिएकाले कानुनी व्यवस्था गरेरै समाधान खोज्न प्रदेश सरकार प्रयासरत रहेको उनले बताए ।

साधारणसभाले १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको सहकारी संस्थाका सचिव हरिकृष्ण थेकेले जानकारी दिए ।

यस सहकारी संस्थाकाले प्रत्येक सदस्यको जीवनसँग सहकारी प्रत्यक्ष रूपमा जोडिनुपर्छ भन्नेमा सचेत रहँदै विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । नवजातलाई लक्षित गरी बाल शैक्षिक बचत योजना चलाइएको छ ।

खुत्रुको बचत योजना कार्यान्वयन गरिरहेका छौँ । सुत्केरी भत्ता, जेष्ठ सदस्य र एकल महिला भत्ता वितरण गर्दै आएका छौँ । अपांगता भएकाहरु बालबालिकालाई लक्षित गरी छात्रवृत्ति योजना संचालन गरिएको छ । सदस्य दुर्घटना बिमा, प्राणघातक रोग उपचार खर्च दिँदै आएको छ ।


क्लिकमान्डु