तीनकुनेमा हेलिप्याडसहितको अस्पताल निर्माण हुने, लागत साढे ७ अर्ब



फाइल फोटो

काठमाडौं । काठमाडौंको तीनकुनेमा हेलिप्याडको सुविधासहित अस्पताल निर्माण भइरहेको छ । तीनकुनेमा काठमाडौं इन्टरनेशनल हस्पिटल प्रालिले हेलिप्याड सुविधासहितको अस्पताल निर्माण गरिरहेको हो ।

१२ तल्लाको निर्माण हुने अस्पतालमा २ वटा बेसमेन्ट, भुई तल्ला र ८ तल्लाको पूर्वाधार बन्नेछ । अस्पताल २७ हजार ७२६ स्क्वायरमिटर क्षेत्रफलमा निर्माण हुनेछ । सन् २०२५ देखि व्यावसायिक कारोबार गर्ने गरी अस्पतालको निर्माण कार्य अगाडि बढिरहेको छ ।

निर्माण भइरहेको काठमाडौं इन्टरनेशनल अस्पतालको लागत ३४ प्रतिशतले बढेको छ । अस्पतालको लागत सुरुमा अनुमान गरेको रकमभन्दा ३४ प्रतिशतले बढेको हो ।

कम्पनीले सुरुमा ३ सय शय्या क्षमताको अस्पताल निर्माणमा ५ अर्ब ५५ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको थियो । त्यसका लागि कम्पनीले ७५ प्रतिशत कर्जा र २५ प्रतिशत लगानीकर्ताले खर्च व्यहोर्ने जनाएको थियो । तर, अहिले उक्त आयोजनाको लागत संशोधन गर्दा ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ । अस्पतालको लागत १ अर्ब ९० करोड १० लाख रुपैयाँले बढेको जनाएको छ ।

अस्पतालले जोइन्ट इन्टरनेशनल कमिसनको मापदण्डअनुसार निर्माण गर्ने योजना बनाएकाले डिजाइन परिवर्तन भई लागत बढ्न गएको उल्लेख छ । उक्त मापदण्डको अस्पताल निर्माणका लागि जग्गा थप गर्नेछ भने भवन निर्माणको डिजाइन परिवर्तन गरेको जनाएको छ ।

हालसम्ममा अस्पताल निर्माणका लागि ४७ प्रतिशत आर्थिक प्रगति भइसकेको छ । त्यसैगरी जग्गा अधिकरण गरी दुई तल्लासम्म पूर्वाधार निर्माण भइसकेको छ । डा.हरिशचन्द्र न्यौपानेसहित अन्य चारजना बोर्ड समिति रहेको अस्पताल निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ६५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

अस्पतालले दीर्घकालीन कर्जाका लागि ५ अर्ब ५६ करोड २० लाख रुपैयाँ अर्थात् सिंगल बी प्लस र अल्पकालीन कर्जाका लागि ८ करोड ८० लाख रुपैयाँ अर्थात् एफोरको रेटिङ गराएको छ ।


क्लिकमान्डु