ललितपुरको बालकुमारीमा प्रदर्शनरत युवाद्वारा मन्त्रीको गाडीमा आगजनी



काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)को विषयलाई लिएर प्रदर्शन उत्रिएका युवाले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

पहिला गाडीको हावा फुस्काएको र पछि तोडफोड गर्दै आगजनी गरेको ललितपुर प्रहरीले जनाएको छ । मन्त्री ज्वालाका सञ्चार सहयोगी जीवन बिसीले ग्वार्कोबाट आउँदै गरेका मन्त्रीको गाडीमाथि १२ बजेतिर बालकुमारीमा आगजनी भएको बताए ।

प्रदर्शनरत युवाले सडक अवरुद्ध गर्दै अन्य सवारीसाधन पनि रोकेका छन् । केही समययता ईपीएसको विषयलाई युवा आन्दोलित छन् ।

उनीहरुले ईपीएसको कार्यालयअगाडि प्रदर्शन गर्दै आएका हुन् । प्रदर्शनका कारण बालकुमारी क्षेत्र वरपर सवारीसाधन अस्तव्यस्त भएको छ ।

ईपीएसको कोरियन भाषामा सिप बिल्डिङमा आवेदन दिएका युवाले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने भएपछि आन्दोलित छन् ।

ईपीएस शाखा कार्यालयले सूचना जारी गर्दै सिप बिल्डिङमा आवेदन दिई परीक्षामा सामेल भएर अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने बताएपछि केही युवाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए ।

ईपीएस कार्यालयको निर्णयविरुद्ध रिट दायर भएपछि अदालतले आवेदन दिन आदेश दिएको थियो । तर, रिट दायर गर्ने १८ जनाले मात्र आवेदन दिन पाउने गरी आदेश भएपछि अन्य युवा आन्दोलनमा उत्रिएका हुन् ।


क्लिकमान्डु