आठौं रियल इस्टेट मेला सुरू, भूमिमन्त्री चौधरीले भने- जग्गा हदबन्दीको समस्या हटाउन तयार



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं रियल इस्टेट एक्स्पो सुरू भएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघले आजबाट १५ गतेसम्म रियल इस्टेट एक्स्पो सुरू गरेको हो ।


यस पटकको मेलाले सर्वसाधारण सबैमा घरजग्गा ब्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा समुचित सूचना तथा जानकारी उपलब्ध गराई व्यवसायलाई समय साक्षेप विकास एवं विस्तार गर्न थप योगदान पुऱ्याउने अपेक्षा गरिएको छ । 


नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पुऱ्याइरहेका व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो नवीनतम् उत्पादन उपभोक्तामाझ पुऱ्याउने तथा उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्नेछन् ।

आठौं पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ(आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन छ।

यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी भएका छन् । 


मेलामा विद्युतीय सरसामानहरु, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीहरुले आ(आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध छन् ।

साथै, इच्छुक सहभागीहरुले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ गर्न चाहेमा सोको समेत ब्यवस्था गरिएको छ ।

मेलाबाट एकातर्फ योजनाबद्ध तरीकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्टहरु खरिद र बिक्रीमा संलग्न सरोकारवाला तथा दर्शकहरुले सुरक्षित एवं ब्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धा मार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

अर्कोतर्फ दर्शक तथा उपभोक्ताहरुलाई विशेषज्ञहरुद्वारा सो सम्बन्धी कानूनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने हुनाले यो ब्यवसायमा आवद्ध ब्यवसायी तथा उपभोक्ताहरु दुबैको हित प्रवर्द्धन भई देशको आर्थिक विकासमा थप योगदान पुग्न जाने अपेक्षा गरिएको छ । 


घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवाप्रदायक संस्थाहरुका लागि यो मेला एउटा साझा मञ्च बन्ने विश्वास लिएको छ ।

सेवाग्राहीको ईच्छा एवं छनोटको आधारमा समुचित मूल्यमा घरजग्गा उपलब्ध हुने गरी कारोबारलाई सरल, सुलभ तथा व्यवस्थित बनाउन यो मेला निकै उपयोगी हुनेछ संघको दाबी छ । मेलाबाट २ अर्ब ५० करोड रूपैयाँको कारोबार हुने अपेक्षा गरेको छ ।

मेलामा कम्तीमा ६० हजार भन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरेको छ । अवलोकनका लागि निः शुल्क व्यवस्थापन गरिएको छ । साथै, हालसम्ममा र ६० भन्दा बढी स्टलहरु छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय रन्जिता श्रेष्ठ चौधरीले रियल स्टेट क्षेत्रको मेलाले सम्भावना मात्रै नभएर विभिन्न जानकारी दिने बताइन । उनकाअनुसार सरकारले भुउपयोग ऐेन २०७६ र नियमावली २०७९ संशोधन गरी जग्गाको कारोबारलाई सहज बनाएकाले आगामी दिनमा सहज वातावरण सिर्जना हुनेछ ।

मन्त्री चौधरीले ठूलाठूला भवन निर्माण र आयोजनामा हदबन्दीको समस्या आइरहेको छ । त्यसमा पूर्वाधार निर्माणमा हदबन्दीको समस्या हटाउन सरकार सकारात्मक रहेको जिकिर गरिन्।

त्यसैगरी, घरजग्गालाई व्यवस्थित बनाउनका लागि सरकारले भूमि बजारका लागि गृहकार्य गरिरहेको बताइन् ।

संघका प्रथम उपाध्यक्ष दिपक कुँवरले मेलाले अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउने बताए । उनकाअनुसार घरजग्गा कारोबारमा जग्गाको हदबन्दीका कारण व्यवसायीहरू अन्यौलमा रहेको भन्दै समस्या हटाउन माग छ ।

त्यसैगरी, बैंकको कर्जा लिएर व्यवसाय गर्ने व्यवसायीहरू मारमा छन् । घरजग्गा कारोबार हुन नसक्दा यससँग सम्बद्ध उद्योगमा पनि समस्या निम्तिएको बताउँदै मेलाले आगामी दिनमा सकारात्मक सन्देश प्रवाह हुने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मेलाले सर्वसाधारणलाई जानकारी लिन सहज भएको बताए । उनकानुसार अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउँदै रियल इस्टेट क्षेत्रलाई तीब्र गतिमा अगाडि बढाउनुपर्छ ।

त्यसैगरी, अहिले पूँजीगत खर्चको अवस्था निकै कजोर भएकाले पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिनुपर्ने जिकिर गरे ।


क्लिकमान्डु