सहकारीसँग १ करोड बढी घुस लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ



काठमाडौं । सहकारीसँग घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् ।

तत्कालीन रजिस्ट्रार पराजुलीलाई १ करोड पाँच लाख घुस लिएको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए । सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप थियो ।

कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।


क्लिकमान्डु