राम्रा कामको सुरुवात भएको छ, अझै राम्रा काम गर्छौं: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन् । गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताए ।

‘सरकारले यो एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने केही काम गरेको छ । नागरिकता समस्या, मिटरब्याजीको समस्या, सामाजिक सुरक्षा, विकास निर्माणको क्षेत्रमा बुढीगण्डकी आयोजना, जलवायु न्यायको विषयमा पर्वतीय देशहरुको नेतृत्व गरिएको  छ । एक वर्षमा यति काम भए भने बाँकी ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन्,’ उनले भने ।

सरकारले राम्रा कामको सुरुवात गरेको भएको भए पनि गणतन्त्र र परिर्वतन विरोधीहरुले ती काम राम्रा भए भनेर नभन्ने उनले बताए । राम्रा कामको प्रचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

‘हामीले गाउँगाउँमा सिंहदरबारको रुपमा महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गरेका छौं, यसबाट धेरै राम्रा काम पनि भएका छन् । त्यसको पक्षमा हामीले बोल्नुपर्छ । सरकारका राम्रा कामको प्रचार हामीले नै गर्नुपर्छ,’ उनले भने ।

परिर्वतन विरोधीहरुले सरकार, गठबन्धन र प्राप्त उपलब्धिका विरुद्ध षड्यन्त्र गरिरहेको प्रधानमन्त्रीले बताए । त्यसकै कारण नकारात्मकतामात्रै देखाएर अँध्यारोमात्रै देखाउने काम गर्न खोजिएको उनको आरोप छ । यद्यपि त्यस्ता षड्यन्त्र र परिर्वतन विरोधी अवरोध छिचोल्न सरकार सफल बनेको प्रधानमन्त्रीको धारणा छ ।

‘गठबन्धनका विरुद्ध विभिन्न षड्यन्त्र र धार्मिक द्वन्द्व सिर्जना गर्न खोजियो । तर उनीहरुले जतिसुकै बल गरे पनि केही भएको छैन । हामीले बडो धैर्य साथ धार्मिक र अतिवादी प्रयास विफल तुल्यायौं,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष गठबधन परिर्वतन लगायतका विभिन्न अलमलका कारण बजेट निर्माणमा राम्रो ध्यान दिन नसकिएको बताए । यो वर्ष बजेट निर्माणमा व्यापक छलफल गरेर जनताको सहभागिता बजेट निर्माणमै गराइने उनले प्रतिबद्धता छ ।

‘निर्वाचनलगत्तै एउटा परिस्थितिमा सरकार बन्यो र मैले त्यो सरकारको नेतृत्व गर्न पाएँ, पछि फेरि राजनीतिक कोर्स फेरियो, म फेरि गठबन्धनको प्रधानमन्त्री बनें,’ उनले भने, ‘त्यति बेलासम्ममा नीति तथा कार्यक्रम बनिसकेको थियो, त्यसैले गत वर्ष पर्याप्त ध्यान पुग्न सकेन, आगामी बजेटमा म उचित सम्बोधनको प्रयास गर्नेछु ।’

प्रधानमन्त्र प्रचण्ड नेकपा माओवादी केन्द्रको जनतासँग रुपान्तरण अभियानअन्तर्गत सात प्रदेशका सात वडा जाने कार्यक्रमअन्तर्गत वारपाक सुलिकोट गाउँपालिको ८ नम्बर वडा गएका हुन् ।


क्लिकमान्डु