कुलमानले अदालतलाई उपलब्ध गराउन सकेनन् टीओडी मिटरको तथ्यांक



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अदालतलाई समेत टाइम अफ डे (टीओडी) मिटरको तथ्यांक उपलब्ध गराउन नसकेको पाइएको छ ।

डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवादका विषयमा चलिरहेको मुद्दामा जिल्ला अदालतहरुले माग गरेको टीओडीको तथ्यांक प्राधिकरणले दिन नसकेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइनमार्फत अतिरिक्त बिजुली प्रयोग गरेको भन्दै ६१ उद्योगसँग शुल्क मागेका छन् ।

प्राधिकरणको निर्णयविरुद्ध केही उद्योगी अदालत गएका छन् । प्राधिकरणले अतिरिक्त शुल्क नतिरेको भन्दै नौ वटा उद्योगको लाइन काटिसकेको छ ।

उद्योगीले हालेको मुद्दामा अदालतले प्राधिकरणका विभिन्न कार्यालयमार्फत टीओडी मिटरको तथ्यांक माग गरेको छ । प्राधिकरणका सम्बन्धित क्षेत्रका कार्यालयहरुले भने टीओडी मिटरको तथ्यांक मेटिइसकेकोले उपलब्ध गराउन नसकिने जवाफ अदालतलाई दिएका छन् ।

प्राधिकरणविरुद्ध शिवम् सिमेन्टको मुद्दा मकवानपुर जिल्ला अदालतमा विचाराधीन छ । उक्त अदालतले २०८० साउन ३० मा प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक मागेको थियो । प्राधिकरणले भदौ १८ मा मकवानपुर जिल्ला अदातलतलाई पठाएको जवाफमा लामो समय टीओडीको रेकर्ड कायम नहुने भएकाले उपलब्ध गराउन नसकिएको उल्लेख छ ।

यस्तै रिलायन्स स्पिनिङ मिल्सले प्राधिकरणविरुद्ध सुनसरी जिल्ला अदालतमा हालेको मुद्दामा पनि प्राधिकरणले टीओडी मिटर उपलब्ध गराउन नसकिने व्यहोराको पत्र पठाएको तथ्य अनलाइनखबरले सार्वजनिक गरेको छ ।


क्लिकमान्डु