सवा ५ करोड ठगेर बज्रयान बहुउद्देश्यीय सहकारीका ६ जना फरार



काठमाडौं । बज्रयान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा सञ्चालकले बचतकर्ताको ५ करोड २८ लाख ७२ हजार ७८१ रुपैयाँ ठगेर फरार भएका छन् ।

सहकारीका अधिकारीहरुले ५४ बचतकर्ताको उक्त रकम ठगेर सम्पर्कविहीन भएका हुन् । सहकारीले बचतकर्ताको साढे ६ हजार देखि ६० लाख रुपैयाँसम्म ठगेको छ ।

आफूहरुलाई ठगेको भन्दै बचतकर्ताले ७ जनाविरुद्ध उजुरी दिएका थिए । जसमध्ये सहकारीका उपाध्यक्ष अरुणप्रकाश श्रेष्ठ पक्राउ परेका छन् भने अन्य ६ जना फरार छन् ।

फरार रहनेमा संस्थाका अध्यक्ष राजकुमार घिमिरे, कोषाध्यक्ष शतिशचन्द्र श्रेष्ठ, लेखा समिति सदस्य राजु भाई महर्जन, सञ्चालक समिति सदस्य रविन कार्की, लेखा समिति संयोजक रविन्द्र बज्राचार्य र पूर्व अध्यक्ष गौरी प्रभा श्रेष्ठ रहेका छन् ।

उनीहरुविरुद्ध अपराध पीडित संरक्षण २०७५ को दफा ४१ बमोजिम पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क भराई पाउन माग दाबीसहित अदालतमा मुद्दा दायर भएको छ । उनीहरुले बचतकर्तालाई राम्रो ब्याज दिने भन्दै ठगेको आरोप लागेको छ ।

वज्रयान बहुउद्देश्यीय सहकारी संस्थाकी पूर्वअध्यक्ष गौरीप्रभा श्रेष्ठ तथा संयोजक रविन्द्र बज्राचार्यले बचतकर्तालाई आफूहरुले मनी ट्रान्सफर सञ्चालन गरेको र दैनिक तथा मुद्दती खातामा रकम जम्मा गरेमा राम्रो ब्याज दिउँला भन्दै ठगेको नारायण महर्जनले बताए ।

‘तपाईंहरुले चाहेको अवस्थामा संस्थामा जम्मा भएको रकमसमेत झिक्न मिल्छ र १६ देखि १९ प्रतिशतसम्म ब्याज दिउँला भनेकाले हामीले आ–आफ्नो तरिकाले विभिन्न मितिमा रकम जम्मा गरेका हौं,’ उनले भने, ‘पटक–पटक बचत फिर्ता नदिई आलटाल गरी झुलाई ठगी गरे ।’ महर्जन जस्तै अन्य बचतकर्तालाई पनि धेरै ब्याज दिने प्रलोभनमा पारेको बचतकर्ताको भनाइ छ ।


क्लिकमान्डु