रुसी सेनामा गएका सय हाराहारीमा नेपाली हराइरहेको उजुरी आएको छ: परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा गएका सयजना हाराहारीमा नेपालीहरु हराइरहेको उजुरी मन्त्रालयमा आएको बताएका छन् ।

मन्त्री साउदले यो संख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने आफूहरुको अनुमान रहेको बताए ।
‘करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ,’ मन्त्री साउदले भने, ‘ त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किन भने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो सङ्ख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने हाम्रो अनुमान छ ।’

रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)को प्रबन्ध गरेको उनले बताए ।

दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाएको उनको भनाइ छ ।

‘यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाएका छौँ । यसमा हामीले आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी राखेका छैनौँ । कुनै कारणवस अप्ठ्यारोमा परेर हाम्रो दूतावासमा पुगेकाको उद्धार गरेका छौँ । नेपाल फिर्ता गरेका छौँ’ मन्त्री साउदले भने ।

यससँगै युक्रेनमा बन्दी बनाइकाका हकमा आफूहरु युक्रेन सरकारको सम्पर्कमा रहेको उनले बताए ।
‘युक्रेन हेर्ने हाम्रो राजदूतले उद्धारका लागि वार्ता संवाद गरिरहनुभएको छ । दिल्लीस्थित नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ,’ मन्त्री साउदले भने, ‘अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्ध बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका छौँ । यसको परिणाम चाँडै आउँला भन्ने मैले विश्वास लिएको छु ।’

इजरायलमा हमासको आक्रमणमा परी हालसम्म अज्ञात अवस्थामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आफूले पहल गरिरहेको उनले बताए ।


क्लिकमान्डु