पशुपति हिन्द‍ू विश्वविद्यालयको काम द्रुत गतिमा अघि बढाउन मन्त्री किराँतीको निर्देशन



काठमाडौं । पशुपति हिन्दू विश्वविद्यालय द्रुत गतिमा अगाडी बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पुशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किराँतीले निर्देशन दिएका छन् ।

विश्वविद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा मंलबार मन्त्री किराँतीले निर्देशन दिएका हुन् ।

गत चैतमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्री किराँतीले आफूले मन्त्रालयस्तरबाट गर्नु पर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह गरे ।

समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन् । पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषदबाट हुने नीतिगत निर्णय सहज भएमा विश्वविद्यालय स्थापनाले गति लिने बताए ।

यो विश्व विद्यालयले विशेष गरि अध्ययन अनुसन्धानलाई प्रथामिकता दिने गरि प्रारम्भीक रुपरेखा बनिरहेको उनले बताए ।
विश्वविद्यालयमा नेपालका सवै धर्म शास्त्रहरुको अध्ययन अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताए ।

यस विश्वविद्यालयमा कम कक्षा र बढी अनुसन्धान गराइने प्रारुप तयार गरिएको अर्का सदस्य डा.प्रेमबहादुर खत्रीले बताए । नेपालमुखि अनुसन्धान, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रुपमा यस विश्वविद्यालयलाई स्थापना गरिने खत्रीले बताए ।

विश्वविद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्वविद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पूरा गरेपछि स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितिका अर्का सदस्य कमल ढकालले बताए । यस अवधारणाले नेपाल, पशुपति र हिन्दूहरुको गौरवको विषय भएकोले कुनै प्रकारको ढिला सुस्ति नगर्न क्षेत्र विकास कोषलाई मन्त्री किराँतीले निर्देशन दिए ।


क्लिकमान्डु