गृहमन्त्रीज्यू ! मैले २ अर्ब लिएको छानबिन समितिले निष्कर्ष दिएको भए हत्कडी लगाउनुस्: रवि लामिछाने



श्रीमान कान्तिपुरले म सदस्य छैन पनि भन्नुहुन्छ । अनि मैले कर्जा लिएको पनि भन्नुहुन्छ । सदस्यता लिएको, कर्जा लिएको प्रमाण देखाइदिनु भए हुन्थ्यो । मेरो कान्तिपुरलाई बिन्ती छ, मैले कर्जा लिएको त्यो १ करोड तिर्न पाउनुपर्‍यो । कहाँ लिएको रहेछु ? कति पैसा लिएको रहेछु ? कुन कागज दिएर लिएको रहेछु ? त्यो ल्याप्चे कागज मैले केही पनि पाइन । मलाई सहकारीले पनि दिएन । छानबिन समितिले मलाई कहिल्यै बोलाउँदा पनि बोलाएन ।

पीडितहरुले चाहिँ केही भन्न खोज्नुभएको थियो होला पहिला अगाडि । चितवनकै सहारा पनि के-के थियो । यहाँको पनि कुरा गरेको थिएँ । अरु स्वर्ण लक्ष्मी के-के कुरा आएको थियो । समन्वयमै थिए । मलाई पीडितहरुले जानकारी दिलाउनुभयो । त्यतिखेर गर्नुभएन । अहिले गरेपछि पीडितहरुको एक-एक पैसा, जस-जसको चाहिँ दुःख गरेर कमाएको पैसा छ, त्यो फिर्ता नहुन्जेलसम्म लड्ने दायित्व मेरो हो ।

तर, मेरो पनि नाम देखियो । जुन सहकारीमा मैले खाता खोलेको छैन । जुन सहकारीको म सदस्य छैन । सदस्य नभएको मान्छेले कर्जा लिन मिल्दैन । तर, त्यो सहकारीले धेरैको चाहिँ नक्कली कागज बनाएर कर्जा लियो भन्ने रिपोर्टिङ पनि उहाँ नै गर्नुहुन्छ । अरु सबै चाहिँ नक्कली, रवि लामिछानेले लिएको कर्जा चाहिँ सक्कली रे फेरि । भनेको कर्जा लिएँ मैले, कर्जा लिएको हो त ?

अरुसँग त मैले सायद जानिनँ, कान्तिपुरलाई त थाहा रहेछ । कान्तिपुरले छापिदिएको भए पनि हुन्थ्यो आजै । यो कागज यति मितिमा यसरी लिएको रहेछ, यो दिन गएको रहेछ, यसरी लिएको रहेछ, यहाँबाट पैसा निकालेर यो खातामा हालेको रहेछ भनेर छापिदिएको भए हुन्थ्यो नि !

हे कान्तिपुर ! मलाई यो कर्जा मैले लिएको भन्ने १ करोड लिएको भन्ने जुन छ, त्यो म तिर्न पाऊँ । म तपाईंको कार्यालयमा आएर प्रमाण एउटा हेर्न पाएँ भने हुन्थ्यो । अरुले त मलाई दिएनन् ।

मैले कान्तिपुरको समाचारको विरुद्धमा उजुरी दिइसकेको छु । हिजो दिएको छु । मेरो खेदो खनेको होइन, त्यसमा चित्त नबुझेर मैले यो कुरा भनिरहेको छु । लोकतन्त्रमा यो गर्न पाइन्छ । त्यो उहाँहरुको अधिकार हो । उहाँले गर्न पाउनुहुन्छ, त्यसलाई खण्डन गर्ने, व्याख्या गर्ने र सप्रमाण राख्ने मेरो जिम्मा हो ।

म अलि मुडमा छु । अलिकति केही कुराहरु म बताउन चाहन्छु ।

अब अहिले के सोचिएको छ भने त्यतिखेर पनि विदेशी कम्पनीलाई मैले चाहिँ राष्ट्रिय परिचय पत्रको ठेक्का दिएँ भनेर आदरणीय कान्तिपुरले नै भन्नुभएको थियो । त्यो कुन विदेशी कम्पनी भन्ने कुरा उहाँहरुले मलाई कहिल्यै भन्नु भएन । चुनावको दुई-तीन दिनअगाडि उहाँहरुले आज जस्तै गरेर मेरो टाउको राखेर घोरा राखेर यसले एक अर्बको गर्‍यो भनेर भन्नुभयो । त्यो कार्यविधि कहिले बनेको उहाँलाई थाहा छ । उहाँहरुले बनाउनुभएन । कुन विदेशी कम्पनीलाई मैले दिएँ उहाँहरुले भन्नु भएन ।

तर, फेरि हाम्रो गृहमन्त्रीज्यू त गज्जब फेरि । कान्तिपुरले लेख्यो, उहाँलाई छानबिन समिति बनाइहाल्नुपर्‍यो । उहाँले पनि छानबिन समिति बनाउनुभयो । रवि लामिछानेले दुई अर्ब आयो, रवि लामिछानेले राष्ट्रिय परिचय पत्रको विदेशी कम्पनीलाई दियो भनेर गृहमन्त्रीज्यूले त छानबिन गर्नुपर्छ भन्नुभयो । समिति बनाउनुभयो । अनि त्यो प्रतिवेदन बनाएपछि रवि लामिछानेले कुन चाहिँ विदेशी कम्पनीलाई दिएको रहेछ भनेर त्यो प्रतिवेदनचाहिँ गृहमन्त्रीज्यूले सार्वजनिक गर्नु पर्दैन ?

कान्तिपुरले लेख्ने, गृहमन्त्रीज्यूले सुरु गर्ने । अहिले पनि त्यही हो । अब यताबाट सुरु गर्ने ? सायद गृहमन्त्रीज्यूलाई लागिरहेको होला यताबाट फेरि गर्छु । म उहाँलाई चुनौतीका साथ भन्न चाहन्छु, तपाईंले छानबिन समिति गठन गरेपछि त्यो छानबिनले के निष्कर्ष निकाल्यो ? रवि लामिछानेले त्यो दुई अर्ब, जुन कान्तिपुरले लेख्यो, त्यो पैसा लिएको, विदेशी कम्पनीलाई दिएको हो कि होइन ? छानबिनले निष्कर्ष दिएको भए मेरो हात यी छन् । हतकडी लगाइदिनुस । त्यही खोज्नुभएको हो भने ।

अहिले पनि अब फेरि कान्तिपुरले लेख्छ, एक अर्ब हिनामिनामा रवि लामिछाने जोडिए । म सदस्य नै नभएको, पीडित भएँ भनेर सोधेको छैन । फेरि छानबिन समिति बनाएर कसरी गर्ने भनेर विषयान्तर गर्न खोज्नुभएको हो भने म गृहमन्त्रीज्यूलाई चुनौतीका साथ भन्न चाहन्छु, मैले तपाईंले बनाएको समितिमा बयान दिएर खाएको छु । त्यो सार्वजनिक गर्नुपर्छ कि पर्दैन ।

मन्त्रिपरिषदबाट तपाईंले मलाई एउटा पत्रिकाले छापेको भरमा आरोप लगाउनुभयो । जुन विदेशी कम्पनीको हवाला दियो कान्तिपुरले, त्यो विदेशी कम्पनी होइन । रामेश्वर थापाको कम्पनी हो । जुन कम्पनीले योभन्दा अगाडि गृहमन्त्रीहरुलाई यस्तो सम्झौता गरेको थियो । पाँचपटक सम्झौता गरेको छ । जुन कम्पनीलाई विदेशी कम्पनी भनियो, त्यो विदेशी कम्पनी होइन । कुनै बेलाको उहाँको साझेदार रामेश्वर थापाको कम्पनी हो । नेसनल के भन्ने कम्पनी हो । त्यो कम्पनीबाट उहाँले गर्नुभएको रहेछ । कार्यविधि मन्त्रीले तीन दिनमा बनाउँदैन ।

तर, कान्तिपुरले कुन विदेशी भन्नु पर्दैन । किन भन्नुपर्दैन भने उसले लेखेपछि गृहमन्त्री छानबिन गर्न तयार भइहाल्नुहुन्छ ।

गृहमन्त्रीज्यूलाई अर्को कुरा पनि भन्न चाहन्छु । मैले सदनबाट सुन तस्करीमा मलाई केही सूचना छ भनेर इंकित गरेको थिएँ । म पद र गोपनीयताको शपथ खाएको सांसद हो । मैले कुन सूचना कहाँ दिने भन्ने कुराको ध्यान र मान राख्नुपर्छ । मैले गृहमन्त्रीज्यू कहाँ गएर नै देखाएर नै तपाईंको निकटको मान्छे जो अध्यागमनको डिजी हुनुहुन्छ, झलकराम अधिकारी, उहाँको संलग्नता देखिएको छ ।

उहाँले दावा भन्ने मान्छे जो सुन तस्करीको नाइके हो, उसलाई यो यो सामानमा सुन आयो भनेर पठाउनुभएको छ भनेर देखाएको थिएँ । दावा र उहाँको कुराकानी देखाएको थिएँ । अहिले जहाँ गएर छापा मारियो, त्यहाँ यी सामान छन् कि छैनन् भनेर हेर्ने हो भने यिनै सामान गएका छन् ।

यो काम झलकराम सुवेदीले गर्नुभयो । झलकराम सुवेदी को ? माननीय गृहमन्त्रीज्यूको नजिकको मान्छे । होइन, यसलाई त मोड्नुपर्‍यो उहाँलाई । राजस्व अनुसन्धानले त राम्रो काम गरेको थियो । यो मैले गृहमन्त्रीलाई सिंहदरबारको क्याबिनमा गएर यो सब कुरा देखाएको छु ।

उहाँले त कारबाही गर्नुहोला भनेको गृहमन्त्रीज्यूले झलकरामज्यूलाई मन्त्रालय तान्नुभयो, अलिअलि छानबिन गरेको जस्तो गर्नुभयो र सकियो । उहाँलाई त अनुसन्धान प्रहरीतिर ल्याउनु थियो । सायद, उहाँजस्ता मान्छेलाई जोगाउनु थियो होला ।

त्यसपछि, उहाँको सचिवालय लागेर प्रेसलाई अनुसन्धान प्रहरीमा नल्याएमा यी मान्छे फस्छन् भनेर लगाइदिनुभयो । उहाँको प्रेस संयोजक पनि हुनुहुन्छ, त्यहाँ काम गर्ने चलाउने भन्ने । जीवन चलाउने भन्नेको झलकरामजीसँगको सम्बन्ध के हो, गृहमन्त्रीज्यूसँगको सम्बन्ध के हो भनेर सोध्नुहोला ।

अहिले सरकार फेरबदल हुन लागेको छ, यो गृहमन्त्री हुन लाग्यो क्या हो भनेर मलाई ठेल्न लाग्नुभएको होला । तपाईंको सरकार तपाईंलाई मुबारक । म त्यो रेसमा पनि छैन, म गठबन्धनको रेसमा पनि छैन । मलाई त्यसमा कुनै चासो छैन । अहिले मात्र होइन, सधैं गृहमन्त्री खानुहोला ।

उहाँको प्रेस संयोजकले पत्रिकामा अब यो अनुसन्धान राजस्व अनुसन्धानले होइन, प्रहरीले ल्याउनुपर्‍यो भनेर पत्रकारलाई पठाउनुभएको थियो । कमल गिरि भनेर उहाँकै प्रेस संयोजक । केही पूर्वप्रहरीको प्रतिक्रियासहित प्रहरीले हेर्‍यो भने सुन ल्याउने भेटिन्छन् भनेर मिडियालाई समाचार बनाउन पठाउनुभएको छ ।

यहीअनुसार कुन-कुन मिडियाले लेखे भनेर भन्यो भने म फेरि छुच्चो हुन्छु र फेरि रवि लामिछानेले एक अर्ब खायो भनेर हेडलाइन बन्छ ।


क्लिकमान्डु