प्रधानमन्त्री दाहालले मंगलबार ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (मंगलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्षको अवधिमा सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको दाबी प्रधानमन्त्रीले गर्दै आएका छन् ।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे प्रधानमन्त्रीले जानकारी दिने प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।


क्लिकमान्डु