विदेश छोडेर पशुपालनमा रमाउँदै पूर्णबहादुर



घोराही। रोल्पा रुन्टिगढी गाउँपालिका-३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन। घोराही-११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन् । घर्तीमगरले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो । सुरुआतमा १६ लाख ऋण लिएर थालेको व्यवसायले राम्रो आम्दानी पनि दिएको छ । उनको जलजला कृषि तथा पशुपालन फार्म छ ।

नेपाल प्रहरीको जागिर र पाँच वर्ष वैदेशिक रोजगारीका क्रममा भोगेको अनुभव पनि उनीसँग छ ।

‘विदेशमा गरिने परिश्रम नेपालमा गर्नसके सफलता प्राप्त गर्न समस्या छैन,’ उनले भने, ‘अरुको देशमा घन्टौं काम गर्छौं, कमाइ भएको पनि देख्छौँ, तर स्वदेशमा काम गर्दैनौँ कमाइ धेरै खोज्छौँ, जति कमाए पनि कमै हुन्छ ।’

घर्तीमगरको परिवार स्वदेशमै केही गर्नुपर्छ भनेर रोल्पाबाट दाङ पशुपालनकै लागि झरेको हो । उनले राष्ट्रिय वाणिज्य बैंकबाट १० लाख र छिमेकी लघुवित्तबाट रु छ लाख ऋण लिएर व्यवसाय थालेका हुन् ।

रोल्पामा यसअघि तरकारीखेती गरे पनि ढुवानी र बजारीकरणको समस्याले दाङ आएको उनी बताउँछन् । नेपाल प्रहरीमा हुँदा घर्तीमगर विसं २०५८ असार २८ गते रोल्पाको होलेरीमा माओवादीको आक्रमणमा परे । तीन महिना माओवादीकै कब्जामै रहेको र रिहाइपछि घर परिवारलाई दुःख दिन थालेकाले सरकारी जागिर छोड्न बाध्य भएको उनले सुनाए ।

घर्तीमगर जागिर छाडेपछि वैदेशिक रोजगारीमा पनि गए । त्यहाँ पनि सोचेअनुसारको कमाई नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोंचका साथ पशुपालन व्यवसाय गरेको र आम्दानी पनि राम्रै भएको उनी बताउँछन् ।

‘बिहानैबाट भैँसीको स्याहारसुसार गरेर दूध बेच्न हिँड्छु,’ उनले भने । उनले भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुँने र आहारा तयार गर्ने काम गर्नुपर्छ । घर्तीमगरले मोटरसाइकलमा दूधको क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आएका छन् । उनलाई घरपरिवारले पनि यसमा सहयोग गर्दै आएका छन् ।

घर्तीमगरले दुई बिघा भाडाको जग्गामा पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । ४२ वर्षीय घर्तीमगरको फार्ममा २० वटा गाई, भैँसी तिनका पाडापाडी छन् । घर्तीमगरले दैनिक एक सय लिटर दूध बेच्ने गर्नुभएको छ । जसबाट रु एक लाख ४० हजार आम्दानी गर्दै आएका छन् भने मासिक बचत रु ५०/६० हजार गर्न सफल भएको उनको भनाइ छ । राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालक किसानलाई सहुलियत दिनुपर्ने उनको धारणा छ ।

आफ्नै व्यवसायमार्फत् आयआर्जन गर्ने उद्देश्यले घर्तीको परिवार रोल्पाबाट दाङ आएको हो । उनले गाईभैँसीका लागि आवश्यक घाँस आफैँ उत्पादन गर्दै आएका छन् । तर पनि किसानले उत्पादन गरेको वस्तुले सहजरुपमा बजार नपाउने समस्या भने कायम रहेको उनी बताउँछन् ।

सरकारी जागिर र वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका घर्तीमगर उदाहरण पात्र हुन् । सरकारीस्तरबाट पाउनुपर्ने सेवासुविधाका बारेमा वास्तविक किसानलाई जानकारी गराउन आवश्यक रहेको उनको भनाइ छ । कहीँकतैबाट सहयोग नपाएको हुँदा र उत्पादित वस्तुको बजार ग्यारेन्टी नहुँदा कतिपय पशुपालन फार्म किसानले बन्द गर्न बाध्य भएको बताए ।


क्लिकमान्डु