सम्वर्धन सहकारीका अध्यक्षसहित सञ्चालकले ठगे बचतकर्ताको ६५ लाखः २ पक्राउ, ६ फरार



काठमाडौं । सम्वर्धन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको ६५ लाख १९ हजार ८७० रुपैयाँ ठगेर फरार भएका छन् । काठमाडौंको न्यूराेडमा मुख्य कार्यालय रहेको उक्त सहकारीका अध्यक्षसहित सञ्चालकले ६४ बचतकर्ताको ६५ लाख १९ हजार ८७० रुपैयाँ ठगेका थिए ।

ठगी कार्यमा ८ जना संलग्न छन् । ८ जनामा अहिलेसम्म २ जना पक्राउ परेका छन् भने बाँकी ६ जना फरार छन् ।

बचतकर्तालाई ठग्नेमा सहकारीका सञ्चालक समितिको सदस्य दोलखा जिल्ला साविक भेडपु  गाविस हाल मेलुङ गाउँपालिका ४ का नवराज अधिकारी र सहकारीका म्यानेजर कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका २ गोरुसिंगेका रोशन कुँवर पक्राउ परेका छन् ।

फरार ६ जनामा अध्यक्ष दोलखा जिल्ला साविक पवटी गाविस हाल मेलुङ गाउँपालिका १ का दिनेश कालिकोटे, उपाध्यक्ष दोलखा जिल्ला साविकको पवटी गाविस २ हाल मेलुङ गाउँपालिका १ की देवी पाण्डे, सचिव दोलखा जिल्ला साविक पवटी गाविस हाल मेलुङ गाउँपालिका १ का प्रकाश लकाई, कोषाध्यक्ष दोलखा जिल्ला साविक पवटी गाविस हाल मेलुङ गाउँपालिका १ का साजन थापा, सञ्चालक समिति सदस्य ललितपुर जिल्ला साविक कालेश्वर गाविस १ का सुनिता गौतम र सञ्चालक समिति सदस्य दोलखा जिल्ला साविक पवटी गासिव २ हाल मेलुङ गाउँपालिका १ का चण्डिका खड्का फरार छन् ।

नवराज अधिकारी, रोशन कुँवर, निदेश कालिकोटे, देवी पाण्डे, प्रकाश लकाई, साजन थापा, सुनिता गौतम र चण्डिका खड्कालाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा ३ को खण्ड ‘ग’ बमोजिम सजाय माग दाबी गरेको छ । उक्त सहकारी गत वैशाखमा नै बन्द भएको थियो ।


क्लिकमान्डु