रेड सी मा तनाव: जहाजमा हुथीको आक्रमणले विश्व बजारमा कस्तो असर गर्छ ?



एजेन्सी । वैश्विक वितरण प्रणालीले आगामी दिनमा ठूलो समस्या भोग्ने जोखिम बढेको छ । रेड सि (लाल सागर) बाट जहाजहरुलाई दिशा परिवर्तन गर्नुपर्ने बाध्यता निम्तिएसँगै विश्व व्यापारको वितरण प्रणालीमा असर पर्ने देखिएको हो ।

हुथी विद्रोहीले पछिल्ला दिनहरुमा विश्वकै सबैभन्दा व्यस्त समुन्द्री मार्गमा गरिरहेको हमलाले यस्तो अवस्था ल्याएको हो ।

यमनमा रहेका हमास समर्थक हुथी विद्रोहीहरुको समूहले इजरायलतर्फ गइरहेको जहाजलाई ड्रोन र मिसाइलमार्फत आक्रमण गरिरहेको भनिए पनि अन्य जहाजहरु समेत यो आक्रमणमा परेका छन् । यसले विश्व व्यापारको वितरण प्रणालीमा असर पर्ने देखिएको बीबीसीले जनाएको छ ।

केही दिनअघि साउदी अरबबाट भारततर्फ आइरहेको केमिकल ट्यांकर जहाज चेम प्लुटोमाथि पनि विद्रोहीहरुले आक्रमण गरेका थिए । २५ डिसेम्बरमा भारतको न्यू मैग्लोर बन्दरगाहमा पुग्नुपर्ने यो जहाज आक्रमणका कारण बीचमै अलपत्रपर्दा भारतीय जलसेना त्यसको उद्धारका लागि जहाज र विमानमार्फत गएका छन् ।

अमेरिकी रक्षा विभागले यो आक्रमण इरानबाट छाडिएको ड्रोनमार्फत भएको बताएको छ । तर, त्यसको विषयमा इरानले भने कुनै जवाफ दिएको छैन । लाल सागरको दक्षिणी हिस्सामा हुति विद्रोहीहरुले समुन्द्रको बाटो भएर गइरहेको जहाजहरुमाथि हमला गरिरहेका छन् ।

गत अक्टुबरमा इजरायल र हमास युद्धको आरम्भ भएसँगै हुथी विद्रोहीहरु यसमा भाग लिएको देखिएको छ । इरानको समर्थनमा रहेको यो समूहले हमासलाई समर्थन गर्दै अन्य देशको स्वामित्वमा रहेर ‘बाब एल मन्डाब’ र लाल सागरको बाटो भएर यात्रा गर्ने कार्गो जहाजहरुमाथि हमला गरिरहेको छ ।

बाल एल मान्डाब, २० माइल लामो क्यानल हो, जुन अफ्रिकी भागमा इरिट्रा, डिजिबुटी र अरबियन भागमा यमनसँग जोडिएको छ । प्रमुखतः दक्षिणी क्षेत्रबाट यात्रा गर्ने जहाजहरुले इजिष्टको सुइज क्यानल(नहर) मार्फत थप उत्तरतर्फ यात्रा गर्न यो मार्ग लिने गर्छन् ।

तर, यो क्षेत्रमा हुथी विद्रोहीहरुले गरिरहेको आक्रमणका कारण विश्व व्यापारको वितरण प्रणाली प्रभावित हुने भएको छ । लाल सागर र सुइज क्यानलको बाटो प्रयोग गर्दा ठूला जहाजलाई यात्रा गर्न २५.५ दिन लाग्छ, जुन केप अफ गुड होपको बाटो प्रयोग गर्नुभन्दा झण्डै १० दिन कम हो । हाल विश्व व्यापार र वितरण प्रणालीमा यो मार्गको उच्च भूमिका छ ।

सुइज क्यानल वा भारतीय महासागरको बाटो भएर चल्ने जहाज लालसागर र बाब अल मान्डाबको बाटो भएर हिँड्नुपर्छ । सुइज क्यानल एसिया र युरोपबीचको सबैभन्दा छोटो समुन्द्री बाटो हो । मुख्यतः प्राकृतिक ग्यास र तेलको वितरण यो बाटोबाट हुने गर्छ ।

तथ्यांक संकलन तथा विश्लेषण गर्ने संस्था भोर्टेक्साको सन् २०२३ को तथ्यांकअनुसार दैनिक यो बाटोबाट ९० हजार ब्यारल तेलको वितरण हुने गरेको छ । वर्षेनी १७ हजार जहाज र वैश्विक व्यापारको १२ प्रतिशत हिस्सा यहि मार्गबाट हुने गरेको छ ।

मध्यपूर्व, उत्तर अफ्रिका र युरोपमा खाडी र एसियालगायतका देशबाट आयात हुने १५ प्रतिशत सामग्रीहरु समुन्द्री बाटोबाट हुने गरेका छन् । तेलको मात्रै नभएर उपभोग्य वस्तुदेखि विद्युतीय सामग्रीहरु समेत यही रुटमा भर पर्छन् । तर, हुथी विद्रोहीहरुले अचानक यो मार्गबाट यात्रारत जहाजमाथि गरेको हमलाले भने अवस्था नाजुक बनाउने देखिएको छ । हुथी विद्रोहीहरुले झण्डै १ सय ड्रोन र मिसाइलबाट लाल सागरमा रहेका जहाजमाथि हमला गर्दा १० जहाजहरुले आफ्नो बाटो परिवर्तन गर्नु परेको बीबीसीले जनाएको छ ।

लाल सागरबाट जहाजहरुको रुट परिवर्तन गर्नुपर्ने अवस्था निम्तिँदा विश्व व्यापारमा प्रभाव त पर्छ नै । यसले मुख्य गरि उपभोग्य वस्तुहरुमाथि बढी प्रभाव पार्ने सी एण्ड पी ग्लोबल मार्केट इन्टिलिजेन्समा वितरण प्रणाली अनुसन्धान विभागका प्रमुख क्रिस रोजर्स बताउँछन् ।

जहाजहरुको यात्रा १० दिन लम्बिँदा उपभोक्तासम्म पुग्ने वस्तुको मूल्य पनि बढ्दै जाने उनको भनाइ छ । केप अफ गुड होपको बाटो प्रयोग गर्दा १० दिन थप समय लाग्ने भएकाले यसले उपभोग्य वस्तुहरुमा असर गर्ने उनले बताए । पछिल्लो सातामा जहाजको भाडा ४ प्रतिशतको वृद्धि आएको छ । कम्पनीहरुले यो वृद्धिलाई अन्त्यमा उपभोक्ताले किन्ने वस्तुसम्ममा समायोजन गर्ने उनले बताए ।

वितरण प्रणालीमा प्रभाव पर्दा यसले तेलको मूल्यमा वृद्धि गराउने सम्भावना बढेको छ । तेलको मूल्यमा प्रभाव पर्न साथ र सहजै वितरण नहुँदा यसले अन्य किसिमका उर्जा इन्धनमा पनि असर गर्नेछ ।

लाल सागरमा भएको आक्रमणका बीच अमेरिकी रक्षा विभागले ४० भन्दा धेरै देशहरुसँग गत मंगलबार भर्चुअल मिटिङ गर्दै आफ्नो क्षेत्रमा जहाजको सुरक्षाका लागि काम गर्न आह्वान गरेको छ । सँगै अमेरिका, बेलायत, फ्रान्स, नर्वे, स्पेनजस्ता देशहरुसँगको सहकार्यमा अमेरिकाले अन्तर्राष्ट्रिय नाभेल कर्पोरेसनमार्फत लाल सागरमा रहेका जहाजको सुरक्षा गर्ने पनि घोषणा गरेको छ ।


क्लिकमान्डु