गुगल क्रोममा प्रयोगकर्तालाई थप सुरक्षा, ‘सेफ्टी चेक’ फिचर



एजेन्सी । प्रविधिसम्बन्धी कम्पनी गुगलले आफ्नो वेब ब्राउजर गुगल क्रोमको ‘सेफ्टी चेक’ फिचरलाई अपडेट गर्ने भएको छ । प्रयोगकर्ताको गोपनियता र सुरक्षाका लागि गुगलले आफ्नो ब्राउजरको फिचरलाई अपडेट गनर्जे भएको हो ।

कम्पनीकाअनुसार नयाँ गुगल क्रोमको अपडेटमार्फत ब्राउजरले अब स्वचालित रुपमा नै ब्याकग्राउन्डमा सुरक्षा जाँच गर्नेछ । गुगल क्रोम ब्राउजरमा सेभ रहेका पासवर्डजस्ता गोपनीय जानकारीहरुमा कसैले पनि छेडछाड गरेमा त्यसलाई रोक्नेजस्ता सुविधाहरु नयाँ अपडेटमा हुनेछन् ।

कसैले छेडछाड गरेको खण्डमा प्रयोगकर्ताको जिमेल रहेको अर्को उपकरणमा पनि नोटिफिकेसन जाने सुविधा क्रोमले दिन लागेको हो । यसले प्रयोगकर्ताको अनलाईन एकाउन्टहरुलाई थप सुरक्षित बनाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

ब्याकग्राउन्डमा स्वचालिक रुपमा नै रहने यो फिचरले सुरक्षामा कुनै चुनौती भएमा लगआउट समेत गरिदिने गुगलले जनाएको छ । यसरी लगआउट गरिएको जनकारी पनि प्रयोगकर्तालाई दिइने कम्पनीले जनाएको छ ।

योसँगै कम्पनीले क्रोममा अर्को फिचर पनि ल्याउने भएको छ । जसको प्रयोगले एक उपकरणमा खोलिएको वेबसाइट ट्याबलाई सजिल्यै अर्को उपकरणमा पनि हेर्न सकिनेछ ।

कम्पनीकाअनुसार केही हप्तामा यी फिचरहरुलाई लागु गरिनेछ ।


क्लिकमान्डु