आईपीओ जारी प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डमा ह्याम्स अस्पतालको निवेदन
काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
अस्पतालले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न शुक्रबार बोर्डलाई निवेदन दिएको हो ।
अस्पतालले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिएको हो ।
ह्याम्स अस्पताललाई गत आर्थिक वर्षको असारमा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड बनेको अस्पतालले जारी पुँजीको १५ प्रतिशत आईपीओ जारी गरेको हो ।
अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ भने सेयर अण्डरराइटिङ एसबीआई मर्चेन्ट लिमिटेडले गर्नेछ ।
यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ ।
ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्काशनका लागि कम्पनीले क्रेडिट रेटिङ पनि गराइसकेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ निष्कासनका लागि इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ।
२०५४ मंसिर २ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई संचालित यस अस्पतालले बागमती प्रदेश स्वास्थ मन्त्रालय, हेटौँडाबाट इजाजतपत्र लिई १०० (एक सय) शैयाको जनरल स्वास्थ्य संस्था/अस्पताल सञ्चालन गर्दैआइरहेको छ ।
अस्पतालले उच्च गुणस्तरीय र किफायती स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले संगठित संस्थाको शतप्रतिशत लगानीमा सहायक कम्पनी ह्याम्स नर्सिङ्ग कलेज २०६५ पुस ९ मा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट स्वीकृती पत्र प्राप्त गरि ३ वर्षे प्रविणता प्रमाण पत्र नर्सिङ्ग कार्यक्रम संचालान गर्दै आइरहेको छ ।