जय अम्बे स्टिल्सले आईपीओ जारी गर्ने, साधारण सभामा प्रस्ताव लैजाँदै



काठमाडौं । जय अम्बे स्टिल्सले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले गरेको निर्णयअनुसार कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको हो ।

कम्पनीले पुस २६ गतेका लागि साधारणसभा बोलाएको छ । सञ्चालक समितको निर्णय साधारण सभाबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट पेस भएको प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने तथा गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाब, नगद प्रवाहको विवरणसहितका लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै सञ्चालक समिति गठनका साथै अधिकृत पुँजी बढाउने निर्णय पनि सभाले गर्नेछ ।

अहिले वास्तविक क्षेत्र सेयर बजारमा प्रवेश गर्ने क्रम बढेको छ । शिवम्, घोराही, सोनापुर सिमेन्टलगायत दोस्रो बजारमा सूचीकृत भइसकेका छन् भने सर्वोत्तम सिमेन्टको निष्कासन प्रक्रियामा छ ।

न्यौपाने, अग्रवाल र पौडेल परिवारको लगानी रहेको जय अम्बे स्टिल्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक शोभाकर न्यौपाने हुन् । कम्पनीमा उनको ४७ प्रतिशत सेयर स्वामित्व छ ।


क्लिकमान्डु