अर्विन्द इम्पोरियमले एकै वर्ष गर्‍यो पौने ४ अर्बको व्यापार, ६ प्रतिशत नाफा



काठमाडौं । एचआर गोयल ग्रुप अफ कम्पनीजको अर्विन्द इम्पोरियम प्रालिले एकै वर्ष पौने ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ७६ करोड १० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो ।

सन् २०२२ मा २ अर्ब ५८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२१ मा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२३ मा सन् २०२२ को तुलनामा ४५ प्रतिशतले व्यापार गरेको जनाएको छ । सन् २०२३ मा क्लिङ्कर, बिटुमेन र फ्यूलको कारोबार बढ्दा व्यापार बढेको उल्लेख छ । सन् २०२२ मा ४.४५ प्रतिशतले नाफा कमाएको कम्पनीले २०२३ मा ५.५९ प्रतिशतले नाफा कमाएको छ ।

सन् १९९३ मा स्थापना भएको कम्पनीले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले जीप्सम, आइरन ओर, बक्सिट, फ्लाइ यास र बिटुमेन आयात गरी कम्पनीहरुलाई बिक्री वितरण गर्दै आएको छ । कम्पनी पूर्वाधार केमिकल र एमवाइके चोमबर्ग प्रालिको आधिकारिक डिलर पनि हो । साथै, कम्पनीको वीरगञ्जमा नेपाल आयाल निगमको डिपो पनि सञ्चालन गर्दै आएको छ ।

सुरेन्द्र गोयलको स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ८ करोड रुपैयाँ रेटिङ गराएको छ । कम्पनीले तीन दशकदेखि सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आपूर्ति गर्दै आएको छ ।


क्लिकमान्डु