निगमको आम्दानी तीन वर्षमा दोबरभन्दा धेरैले बढ्यो



काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोबरभन्दा धेरैले वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ४५ रुपैयाँ थियो ।

आव २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ पुगेको निगमको आम्दानी आव २०७९/८० भने २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ पुगेको अनुमान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले बढाएको पनि दाबी गरेको छ ।

विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा जहाज उडानमा रहेका छन् । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम विस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमि रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाइ अगाडि बढ्ने कार्य भइरहेको निगमले जनाएको छ ।


क्लिकमान्डु