गठबन्धन सरकार अहिलेको बाध्यता हो: अर्थमन्त्री



मकवानपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री महतले भने, ‘कतिपय साथीहरुलाई गठनबन्धन किन गर्नुपर्‍यो भन्ने लागेको होला । यी कुरा पार्टीको कोणबाट हेर्दा ठिकैजस्तो लाग्छ । तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन ।’

मिश्रित निर्वाचन प्रणालीले गर्दा एउटा दलको बहुमत आउन कठिन भएको उनले बताए । एकल बहुमतका लागि हामीले ठूलै जनप्रवाह हासिल गर्नुपर्ने उनको भनाइ छ ।

‘कांग्रेसबाट सरकारमा सहभागी भएका हामीले काम गरिरहेका छौं तर देशमा समस्या धेरै छ, आवश्यकता धेरै छन् । तर हाम्रो सामर्थ्य कम छ,’ उनले भने, ‘देशको आम्दानी थोरै छ, थोरै आम्दानीले धेरै समस्याको समाधान एकैपटक हुँदैन । तर समस्या समाधानका लागि हामीले इमानदार प्रयास गरिरहेका छौं, समर्पणका साथ काम गरिरहेका छौं ।’


क्लिकमान्डु