काठमाडौं महानगरले सुरु गर्‍यो सफ्टवेयर डेभलपमेन्टको तालिम



काठमाडौं । काठमाडौं महानगरपालिकाले रोजगारी र आय बृद्धि काठमाडौंको समृद्धि कार्यक्रमअन्तर्गतको सफ्टवेयर डेभलपमेन्टको तालिम सुरु गरेको छ ।

महानगरले आइतबारबाट यो तालिमको सुरुवात गरेको हो । काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आइतबारबाट कार्यक्रमको सुरुवात भएको हो। महानगरले निशुल्क रुपमा युवाहरुलाई रोजगार बनाउनका लागि यो तालिमको आयोजना गरेको हो ।

कार्यक्रमका संयोजक रामकुमार केसीले महानगरले प्रदान गरेको निशुल्क तालिम रोजगारमुलक तथा स्वरोजगारमुलक भएको बताए । उनले भने, ‘हामी युवालाई आफैं उद्यम गर्न सक्षम बनाउँछौं । रोजगार क्षेत्रमा जान चाहनेलाई योग्य बनाउँछौं ।’

२ महिना हुने सफ्टवेयर डेभलपमेन्ट तालिममा २४४ जनाले आवेदन दिएका छन् । यीमध्येबाट छानिएका ४० जनालाई दुई सिफ्टमा तालिम दिइने महानगरले जनाएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएको रोजगारी र आय बृद्धि, काठमाडौंको समृद्धि कार्यक्रम अन्तर्गत ३४ वटा विभिन्न क्षेत्रमा तालिम दिएर १५ हजार युवालाई तालिम दिने लक्ष्य राखिएको छ, जसमध्ये ५ हजार जनालाई स्वरोजगार तथा रोजगारीमा संलग्न गराउने लक्ष्य राखिएको छ ।


क्लिकमान्डु