उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग, कृषिमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन् । सरकारले मूल्य तोक्न ढिलाइ गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उखु उत्पादकमा लागि पकेट क्षेत्र मानिने नवलपरासी जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेका हुन् ।
‘नवलपरासी (सुप) जिल्लाको मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसानहरु उखु खेतितर्फ साह्रै उत्साहित देखिन्छन् । किसानको उत्साहलाई प्रोत्साहन गर्नु हामी राजनीतिकर्मीको मूल ध्येय हो,’ सांसद चौधरीले भने, ‘चालु आर्थिक वर्ष २०८०/८१ का लागि समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्ने हुन्छ। तर हालसम्म पनि मूल्य नतोकिदिंदा यस क्षेत्रका किसानहरु अन्योल र मर्कामा परेका छन् ।’
उनले उखुको समर्थन मूल्य तोक्न ढिलाइ हुँदा उद्योगहरुले उखु खरिद गर्न नपाएको र किसानको उखु बारीमै सुक्ने अवस्था सिर्जना भएको सरकारलाई अवगत गराएका छन् । साथै कतिपय किसानले सरकारले मूल्य नतोक्दा सस्तोमै उखु बेच्न बाध्य भएको भन्दै सांसद चौधरीले कृषि मन्त्री बेदुराम भुसालको लिखित ध्यानाकर्षण गराएका हुन् ।
उनले समर्थन मूल्यसँगै किसानलाई सरकारले उपलब्ध गराउने अनुदान वापतको रकम पनि समयमै भुक्तानी गराउन पनि मन्त्रीसँग माग गरेका छन् ।
सांसद चौधरीकै पहलमा यसपटक नवलपरासीका उखु किसानले सरकारले दिने अनुदान वापतको रकम पाइसकेका छन् । कतिपय जिल्लामा किसानले अघिल्लो वर्षकै रकम नपाएर आन्दोलनरत छन् ।
सरकारले अघिल्लो वर्ष उखुको न्यूनतम मूल्य प्रति मेट्रिक टन ६१० रुपैयाँ तोकेको थियो । जसमा उखु उद्योगले ५४० रुपैयाँ र सरकारले अनुदानवापतको ७० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।