अमेरिकाबाट भित्र्याइयो ५५ किलो गाँजा, त्रिभुवन विमानस्थलबाट बरामद



काठमाडौं । अमेरिकाबाट अवैद्य रुपमा गाँजा नेपाल भित्र्याइएको फेला परेको छ ।
शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच गर्ने क्रममा अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ । १ सय ८ वटा कार्टुनमा प्याकेजिंग गरी ल्याइएको ्गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने प्राप्त सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो । एउटा फर्मको नाममा ल्याइएको कार्टुनहरुमाथि शंका लागेर चेक गर्दा गाँजा भेटिएको थियो ।

उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ ।

यसअघि अमेरिकाबाट हुलाकमार्फत केही ग्राम लागूऔषध नेपाल पठाउने गरेको भेटिएको थियो । तर यति ठूलो मात्रामा एकै पटक गाँजा अमेरिकाबाट ल्याइएको भने पहिलो पटक भएको विमानस्थलका अधिकारीले बताएका छन् ।


क्लिकमान्डु