चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन गर्न सुरु



काठमाडौं । चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु भएको छ ।

बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरेको छ । केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालि बीच सम्झौता भएको थियो ।

सम्झौतामा समिति र प्रालिबीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो ।

सोही सम्झौताअनुरुप शुक्रवारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टि आर एस लोजिपार्कले लिएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका ७ वटै पोर्टहरु निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए ।

अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्न सकेको उनले जानकारी दिए । समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने बताए ।

सुक्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानीपनि बढ्ने बताए । उनले सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरुप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिदाँ सेवा र आम्दानीको हिसावले राम्रो परिणा देखाएको बताए ।

उनले सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने आफुहरुको उद्देश्य रहेपनि काठमाडौं–तराई/मधेस द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने बताए । यद्यपी आफूहरुले निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोशिस गर्ने बताए ।

सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिले चोभारमा सुख्खा बन्दरगाहको कामलाई नमूनाको रुपमा विकास गर्ने बताएको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिका प्रतिनिधि अनन्त सिंहले आफुहरुले विराटनगर, काँकडभिट्टा, वीरगञ्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताए । उनले चोभारलाई नमुनाको रुपमा विकास गर्ने उल्लेख गरे ।

उनले चोभार सुक्खा बन्दरगाहलाई राम्रोसँग सञ्चालन गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।


क्लिकमान्डु