घरजग्गा क्षेत्रमा साढे २८ अर्ब कर्जा प्रवाह



काठमाडौं । घरजग्गा क्षेत्रमा साढे २८ अर्ब कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा घरजग्गा क्षेत्रमा साढे २८ अर्ब कर्जा प्रवाह भएको हो ।

चार महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले २ करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय घर क्षेत्रमा २८ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । गत वर्षको सोही अवधिमा उक्त क्षेत्रमा ७ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको चार महिनाको अवधिमा रियल स्टेट क्षेत्रमा भने कर्जा प्रवाह हुन नसकेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा ७ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार चार महिनाको अवधिमा आवासीय रियल स्टेट क्षेत्रमा ९७ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा ३ अर्ब ३० करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यसैगरी, व्यवसायिक कम्प्लेक्स एण्ड आवासीय अपार्टमेन्ट कन्स्ट्रक्सन कर्जा २ अर्ब १२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । साथै, २ अर्ब १४ करोड ८१ लाख रुपैयाँ जग्गा खरिद र प्लटिङ क्षेत्रमा कर्जा प्रवाह भएको छ ।


क्लिकमान्डु