धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षण गरिँदै



चितवन । जिल्लामा रहेको धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षणको काम सुरु गरिएको छ । भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जिल्लामा रहेको धान जोनको माटो परीक्षण सुरु गरेको हो ।

मङ्गलबारदेखि माटो परीक्षणको काम सुरु गरिएको कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिए । उनका अनुसार जोनअन्तर्गत् आठ हजार ५४० हेक्टर जमिनमा धान खेती गरिएको थियो । यहाँको उत्पादन र उत्पादकत्व वृद्धि नभएपछि माटो परीक्षण गरिएको उनले जानकारी दिए ।

सूचना अधिकारी ढुङ्गानाका अनुसार गत वर्ष ३९ हजार ८८२ मेट्रिकटन धान उत्पादन भएको थियो । यो प्रतिहेक्टर पाँच दशमलब दुई मेट्रिकटन उत्पादकत्व हो । यसवर्ष पनि सोही अनुपातमा धान उत्पादन भएकाले माटो परीक्षण गरिएको उल्लेख गर्दै उनले भने ‘धान उत्पादन दस प्रतिशतले वृद्धि हुनुपर्ने हो, तर हुन सकेन । कारण पत्ता लगाउन माटो परीक्षण गरिएको हो ।’

जोन क्षेत्रमा रोगका किराको आक्रमण माटोका कारणले भएको हुनसक्ने देखिएपछि एक हजार ५० नमुना सङ्कलन गरेर परीक्षण सुरु गरिएको र जोनमा लगाइएको धानमा नेक व्लाष्ट घाँटी मरुवा, सित ब्लाइट, कालोपोके र गबारोलाग्नेजस्ता समस्या देखापरेको थियो । यो समस्या माटोमा कुन तत्वको कमीले भएको हो भन्ने बिषयमा माटो परीक्षणबाटै जानकारी हुने उनले बताए।

माटो परीक्षण गर्दा माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फसफोरस, पोटासको मात्रा कति छ र अम्लियपन वा छ्यारीयपन कति छ भन्ने पत्ता लगाइन्छ ।

जिल्लामा धान जोन सुरु भएको चार वर्ष भएको छ । अन्य दुई वर्षमा उत्पादन र उत्पादकत्व वृद्धि राम्रो भए पनि यस वर्ष हुन नसकेको उल्लेख गर्दै सूचना अधिकारी ढुङ्गानाले भने, ‘धान जोन क्षेत्रमा सुरुवाती वर्ष उत्पादकत्व तीन दशमलब छ मेट्रिकटन प्रतिहेक्टर थियो । धान जोनका रुपमा पूर्बी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका बिशेष रहेका छन् । ती पालिकाको राजमार्गभन्दा दक्षिण क्षेत्रको माटो परीक्षण गरिएको हो । माटो परीक्षणको नतिजा आउन केही समय लाग्छ ।’


क्लिकमान्डु