तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने



भक्तपुर । नेपाल तरुण दलले पुस १ देखि जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणको अभियान सञ्चालन गर्ने भएको छ । तरुण दलले बुधबार भक्तपुरमा आयोजना गरेको शपथ ग्रहणपछिको पहिलो केन्द्रीय कमिटीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पुस १ देखि जाजरकोट, रुकुम पश्चिमलगायत भूकम्पले क्षति पुर्‍याएका जिल्लामा अस्थायी आवास निर्माण अभियान सुरु गर्ने बताए ।

‘भूकम्पबाट आफ्नो बास गुमाएका पीडितको बस्ने बासको व्यवस्था गर्न हामी पुस १ देखि अस्थायी आवास निर्माण अभियान सुरु गर्दैछौँ, जाजरकोट र पश्चिम नेपालका जिल्लामा तरुण दलका दस्ताले ८० देखि एक सय वटासम्म अस्थायी टहरा निर्माण गरेर पीडितलाई हस्तान्तरण गर्नेछ, देशभरका तरुणको सहयोगको साथ ६० जनाको टोली त्यस क्षेत्रमा खटिनेछ,’ उनले भने ।

भूकम्प गएपछि तरुण दलले ती क्षेत्रमा न्यानो कपडा र खाद्यान्नका सामग्री वितरण गरिसकेको जानकारी दिए । देशभरका वडा, पालिका, नगर, जिल्ला, प्रदेश र केन्द्रका तरुणबाट स्वतस्फूर्त रुपमा संकलन भएको रकमबाट अभियान सञ्चालन गरेर अस्थायी आवास निर्माण एवं सामाजिक दायित्वमा देशभरका तरुणको भावना जोड्न लागेको उनको भनाइ छ ।

पार्टीले जिम्मा दिए थप अस्थायी आवास बनाएर फर्कने उनले बताए । ‘कांग्रेस केन्द्रीय कमिटीले त्यस क्षेत्रमा एक हजार वटा अस्थायी टहरा बनाउने भएको छ । पार्टी केन्द्रीय कमिटीसँग हामी जाजरकोटबाटै सम्पर्कमा रहनेछौँ, तरुण दलको अभियान सम्पन्न भएपछि पार्टीले व्यवस्थापनसहित जिम्मेवारी दिए, पार्टीको निर्देशनमा थप अस्थायी आवास बनाउने छौँ,’ उनले भने ।

पुस १ देखिको अभियानका लागि तरुण दलले काठमाडौँबाट २५ र कर्णालीबाट २० जनाको डकर्मी टोली र अन्य जिल्लाबाट सहभागी हुने तरुणसहित ६० जना अस्थायी टहरा निर्माणमा खटिने उनले बताए । भूकम्पका कारण त्यस क्षेत्रका हजारौँ नागरिक चिसोमा आवासविहीन हुन पुगेका छन् ।

केन्द्रीय बैठकमा पदाधिकारीलगायत केन्द्रीय सदस्यले विभिन्न राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै भूकम्पपीडित क्षेत्रमा अस्थायी टहरा निर्माणको सवालमा पारदर्शी रुपमा अगाडि बढ्ने र सामाजिक दायित्वलाई निरन्तरता दिने निर्णय गरेको छ ।


क्लिकमान्डु