काठमाडौंमा रातको समयमा १५ लाखभन्दा धेरैको चोरी गर्ने ३ जना पक्राउ



काठमाडौं । काठमाडौँमा रातको समयमा १५ लाख रुपैयाँभन्दा धेरैको धनमाल र रकम चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीको आरोपमा भारतीय नागरिकहरु सञ्जीव बाँनियाँ, कृष्ण पोदार र किसन गिरीलाई पक्राउ गरेको छ ।

प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा बिक्रम गर्तौला, रमेश विश्वकर्मा र डिल्लीराम विश्वकर्मालाई पनि पक्राउ गरेको छ ।

गत असार १५ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ९ शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट सुनका बिभिन्न गरगहना गरी करिब एक लाख असी हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।

यस्तै कात्तिक पहिलो साता बिजयचोकस्थित बालकृष्ण श्रेष्ठको डेरा कोठाबाट सुनका बिभिन्न गरगहना तथा नगद गरी जम्मा तेह्र लाख अन्ठाउन्न हजार बराबरको धनमाल चोरी भएको थियो ।

उक्त घटनाको अनुसन्धानको क्रममा उक्त चोरी कार्यमा संलग्न तीन जनालाई कार्यालयबाट खटिएको प्रहरी टोलीले उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु