आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा



काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । थानीले मंगलबार अपराह्न ४ बजे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन् ।

मंसिर २७ देखि लागू हुनेगरी उनले राजीनामा बुझाएको उद्योगमन्त्रीको सचिवालयले जनाएको छ । राजीनामा पत्रमा उनले व्यक्तिगत कारण राजीनामा दिनुपरेको उल्लेख छ ।

मन्त्रिपरिषद्‍को सिफारिसमा उनी २०७८ फागुन २६ मा ३ वर्षका लागि नियुक्त भएका थिए । स्वचालित मूल्य प्रणालीका विषयमा सरकारबाट भएको हस्तक्षेपको विरोध गर्दै आएका थानीले पदावधि नसकिँदै राजीनामा बुझाएका हुन् ।

इन्जिनियर पृष्ठभूमिका थानीलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको ठाडो निर्देशनमा निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।

समानान्तर निर्माण सेवाका अध्यक्ष अच्युतप्रसाद खरेलको सिफारिसमा कांग्रेस सांसद आरजु थानीलाई कार्यकारी निर्देशन बनाउन लागिपरेकी थिइन् । नेपालको ‘क’ वर्गको निर्माण कम्पनीका अध्यक्ष खरेल र इन्जिनियरहरुको राजनीतिमा सक्रिय थानी निकटका मित्र हुन् ।

पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ गरेका थानी नेविसंघबाट सभापति भइसकेका व्यक्ति हुन् । उनी राजनीतिक भागबण्डामा विद्युत प्राधिकरण र सडक बोर्डमा सञ्चालक सदस्य पनि बनेका थिए ।


क्लिकमान्डु