बासी दुधमा नयाँ उपभोग्य मिति राखेर बेच्ने ४ डेरी उद्योगलाई साढे ७ लाख जरिवाना
काठमाडौं । सरकारले पास्चराइज्ड दुधको प्याकेटमा उपभोग गर्ने मिति उल्लेख नगर्ने ४ डेरी उद्योगलाई साढे ७ लाख रुपैयाँ जरिवाना गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता आनन्दराज पोखरेलका अनुसार सोमबार र मंगलबार गरी भक्तपुरका ४ डेरी उद्योगलाई ७ लाख ५० हजार रुपैयाँ जरिवाना गराइएको हो ।
‘अनुगमनका क्रममा केही उद्योगीले पुरानो म्याद नाघेको दुधलाई पुनः नयाँ उपभोग्य मिति राखेर प्याकेजिङ गरेको गम्भीर प्रकृतिको त्रुटीसमेत पाइएको छ,’ उनले भने ।
उनका अनुसार दुधको प्याकेटमा उपभोग मिति उल्लेख नगरेको, म्याद नाघेको दुधलाई छुट्टै व्यवस्थापन नगरेको र खाद्य अनुज्ञा पत्रबिना सञ्चालन गरेको अभियोगमा भक्तपुरको जयशम्भु डेरीलाई सोमबार ३ लाख रुपैयाँ जरिवाना गराइएको थियो ।
यस्तै मंगलबार भक्तपुरकै जगदम्बा, नन्दनी र भक्तपुर डेरी उद्योगमध्ये दुई वटालाई २/२ लाख र एउटा उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गराइएको छ । विभागको अनुगमन टोलीले अहिले पनि केही डेरी उद्योगमा अनुगमन गर्न जारी राखेको छ ।