सुन्तलाको उर्वरभूमिमा महोत्सवको तयारी



मुग्लिन । चितवनको इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो ।

यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ । सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

आफ्नो क्षेत्र भित्रका अधिक सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न यस पटक सुन्तला महोत्सव गर्न यही पुसको दोस्रो वा तेस्रो हप्तामा ३ देखि ५ दिनसम्मको महोत्सव गर्न लागिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । महोत्सवका लागि किसानसँगै छलफल गरिरहेको उनले जानकारी दिए ।

अध्यक्ष गुरुङले भने, ‘महोत्सवको तयारीका लागि किसानसँग छलफल गरिरहेका छौँ, महोत्सवले इच्छाकामनाको सुन्तलाको प्रचारप्रसार एवं बजार प्रवद्र्धन गर्न सहयोग पुग्छ ।’ गाउँपालिकाको वडा नं ३ स्थित माझगाउँ, सिरानगाउँ, तोक्दाङ, ढाप, डुडेलगायत गाउँका करिब तीन सय बिघा भन्दाबढी जग्गामा सुन्तला खेती हुने गरेकाले महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा पाहुनालाई आकर्षण गर्न बोटमै टिपेर सुन्तला खानपाउने, सुन्तला कसले धेरै खाने प्रतियोगिताका साथै बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिनेजस्ता क्रियाकलाप गरिने उनले बताए ।


क्लिकमान्डु