एमालेको समृद्धिका लागि संकल्प यात्रा: निशानामा सरकार



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट महाकाली-मेची यात्रा सुरु गर्‍यो । मध्यपहाडी पुष्पलाल यात्रालाई जनतासँग जोडिने अभिायनका रुपमा अघि बढाएको एमालेको लगभग आधा मध्यपहाडी यात्रा सकिएको छ ।

सोमबारसम्म एमालेले बैतडीदेखि सिन्धुपाल्चोकसम्मको यात्रा सकिसकेको छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झुलाघाटदेखि नै अभियानमा जोडिरहेका छन् ।

यसबाट एमालेको युवापंक्तिलाई थप साहस त प्रदान गरेको छ नै हरेक राजनीतिक दलमा सम्बद्ध व्यक्तिका साथै नागरिकमा पनि ऊर्जा थपिएको छ । किन पनि भने ओलीले ७२ वर्षको उमेरमा त्यसमाथि जाडोयाममा मध्यपहाडी लोकमार्गको यात्रा गरिरहेका छन् ।

जनतासँग नजिकिने अवसरका रुपमा हेरिएको एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राले पार्टीलाई थप बलियो त बनाउँछ नै दूरदराजका समस्या पहिचान गरी सम्बोधन गर्न पनि महत्वपूर्ण अवसर हुने निश्चित छ । यस क्रममा एमालेले मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाका स्थानीयसँग छलफल र अन्तर्क्रिया पनि गरेको छ ।

तर, यात्राका क्रममा पार्टीले गरेका सार्वजनिक आमसभामा अध्यक्ष ओलीका भाषण सरकारलाई निशानामा राखेर गरिएको पाइन्छ । ओलीले यात्राका क्रममा सरकारविरुद्ध निशाना साँधेको कुरा झुलाघाटदेखि सिन्धुपाल्चोकसम्म गरेका भाषणले स्पष्ट हुन्छ ।

एमालेको यात्राका क्रममा सार्वजनिक कार्यक्रमलाई हेर्दा जनतासँगका गुनासा र समस्या समाधानको खोजीतर्फ खासै केन्द्रित भएको देखिँदैन ।

पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई ‘मुलुकको समृद्धिका लागि संकल्प यात्रा’ भनिए पनि अध्यक्ष ओलीले त्यसलाई सरकारको विरोधमा जनतालाई गोलबद्ध गर्ने अभियानको रुपमा प्रयोग गर्ने प्रयास गरेका छन् । ओलीले अभियान सुरु गर्नुअघि नै अब सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।

अभियानका क्रममा उनका अभिव्यक्ति सरकारको विरोधमा मात्रै केन्द्रित छन् । कोशी प्रदेशमा पहिचानवादीहरुले एमालेको अभियानलाई प्रवेश नै गर्न नदिने भनिरहेका छन् ।

ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिचानवादीलाई संरक्षण र सञ्चालन गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरिरहेकाले पनि सहजै अनुमान लगाउन सकिन्छ कि आगामी जिल्लामा ओलीका भाषण सरकारप्रति आलोचना गर्नेभन्दा फरक हुने छैनन् ।

जनतासँगको सम्बन्धलाई बलियो बनाउँदै सरकारको विकल्प खोजी गर्ने सन्देश ओलीले अभियानका क्रममा दिनेगरी आफ्नो अभिव्यक्ति दिएका छन् ।

अभियानको आरम्भदेखि नै मुलुकको समृद्धिका लागि आफूहरु मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा जुटेको बताए पनि उनका अभिव्यक्ति सरकारविरुद्ध बढी लक्षित छन् ।

ओलीले राष्ट्रिय स्वाधिनता र स्वाभिमान इतिहासमै सबैभन्दा कमजोर बनाएको भन्दै प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्नेसम्मका अभिव्यक्ति दिएका छन् । वागलुङमा आयोजित सभामा उनले वर्तमान सरकारले राष्ट्रिय हितको संरक्षण गर्नै नसक्ने जिकिर गरेका थिए ।

ओलीले वर्तमान सरकारले छिमेकसँगको सम्बन्ध पनि बिगारेको आरोप लगाएका छन् । भारतको इसारामा वर्तमान सत्तारुढ गठबन्धन चलेको उसले चीनको सहयोग लिन डराएको ओलीको आरोप छ । ओली उत्तरी छिमेकी मुलुक चीनको साथ लिएर फेरि सरकारमा आउन चाहन्छन् भन्ने सन्देश सो अभिव्यक्तिले दिन्छ ।

ओलीले पार्टीका नेताहरुलाई साथमा लिएर अभियानको क्रममा दिएको अभिव्यक्ति सरकारविरुद्ध जनमत सिर्जना गर्ने र त्यसका परिचालन गरेर वर्तमान सरकार हटाउनेमा केन्द्रित देखिन्छ ।

ओलीले  वर्तमान सरकारले देशलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको आरोप लगाउँदै त्यसबाट मुक्त हुन पनि एमाले नेतृत्वको सरकारको विकल्प नभएको बताएका छन् ।

अध्यक्ष ओलीको देशदौडाहालाई चीनका नेता माओको ‘लङ मार्च’सँग तुलना गर्नेहरु पनि नभएका होइनन् । खासमा ओली भने पार्टीको सो १९ दिने समृद्धिका लागि संकल्प यात्रालाई सरकारको विकल्प खोज्ने अस्त्रको रुपमा प्रयोग गर्न चाहन्छन् ।

ओलीले आफूले सरकारको नेतृत्व भएका बेला ‘समृद्ध नेपालः सुखी नेपाली’को परिकल्पना अघि सारेका हुन् । उनले भारतसँगको नाकाबन्दीको सामना गरेर, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समेटेर राष्ट्रवादी नेताको पहिचान बनाउने प्रयास पनि गरेकै हुन् ।

तर, वर्तमान अवस्थामा ओलीका यी प्रयासले मात्रै उनलाई सत्ताको बाघडोर सुम्पने अवस्था छैन । सत्तारुढ गठबन्धनसँग स्पष्ट बहुमत छ । तर पनि जनता गठबन्धन सरकारसँग असन्तुष्ट नै छन् ।

सरकारले नागरिकलाई गरेको प्रतिबद्धताअनुसारका काम व्यवहारतः देखाउन सकेको छैन । पार्टीको पक्षमा जनमत पारेर सत्तारोहण गर्ने ओलीको प्रयासलाई सत्तारुढ गठबन्धन दल भित्रैबाट साथ दिएमात्रै पूरा हुने देखिन्छ ।

मुलुक अस्थिरतामा फसेको नेपाली राजनीतिलाई माथि उकास्ने अवसरको खोजीमा छ । यस्तो बेलामा ओलीको फेरि सत्तारोहण गर्ने अभिलाषा पूरा होला वा नहोला, त्यो भने हेर्न बाँकी छ । एमालेको मध्यपहाडी यात्रा चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ ।


क्लिकमान्डु