ललितपुर महानगरको फुटपाथ व्यापार हटाउने निर्णयको विरोधमा ई:



ललितपुर । मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार निषेध गर्ने ललितपुर महानगरपालिकाको निर्णयको अभियन्ता ईःले विरोध गरेको छ । ईः ले बुधबार दिउँसो ३ बजेदेखि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालयअगाडि उभिएर विरोध प्रदर्शन गर्नेबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।

काठमाडौं महानगरले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेको अभियन्ता ईःले ललितपुरमा पनि १०८ घण्टा उभिएर विरोध प्रदर्शन गर्ने जनाएको छ ।

ललितपुरको सपना नमार्न भन्दै ई: ले साँझ-बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्न महानगरलाई आग्रह गरेको छ । समावेशी विकास र सुशासन कायम गरिरहेको ललितपुरले फुटपाथमा व्यापार गर्नेहरुलाई निषेध गरेर सहरको आत्मा मार्ने काम गरेको ई:को आरोप छ ।

अभियान्ता ईःले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर फुटपाथ व्यवसायीलाई उचित स्थानमा व्यवस्थापन गर्न पहल गरिरहेको छ ।

आइतबारबाट ललितपुर महानगरले मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ व्यापार निषेध गरेको छ । ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार फुटपाथ व्यवसायीको अत्यधिक भीड भएका कारण हिँड्डुलमै समस्या भएपछि सो सडकमा सधैंका लागि फुटपाथ निषेध गरिएको हो ।


क्लिकमान्डु