अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा निर्मलकाजी श्रेष्ठ



काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम)को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।

संस्थापक अध्यक्ष अजितविक्रम शाहको दुई वर्षे कार्यकाल सकिएसँगै आइतबार सम्पन्न एमच्यामको वार्षिक साधारणसभाले अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफ नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

सात सदस्यीय कार्यसमितिमा श्रेष्ठसहित लिपफ्रग टेक्नोलोजीका कैलाशराज विजयानन्द, पठाओ नेपालका अशिममान सिंह बस्न्यात, गो फोर्डका आकाश गोल्छा, लक्ष्मी सनराइज बैंकका मनिष थापा, मोघा इनर्जीका समर्थ मोघा र बोटलर्स नेपाल लिमिटेडका स्नेह राजभण्डारी निर्वाचित भएका छन् ।

संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको चयन संस्थाको सञ्चालक समितिले आगामी बैठकबाट गर्नेछ । एमच्यामको स्थापनामा शाहको योगदानलाई सम्मान गर्दै शाहलाई संस्थापक अध्यक्षको रुपमा बोर्डको मानार्थ सदस्यमा राखिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरी, अभिनव ल च्याम्बर्सका सेमान्त दाहाल मानार्थ सदस्यको रुपमा कार्यसमितिमा रहने छन् ।

श्रेष्ठले आफू नेतृत्वको टिममा ऊर्जाशील पदाधिकारी तथा सदस्य रहेको भन्दै सांगठनिक र व्यावसायिक हितका लागि काम गर्ने बताए । ऊर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन आवश्यक पहल गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले आफ्नो कार्यकालमा लगानी तथा उद्यम सम्बन्धित विभिन्न सम्मेलन नेपाल तथा अन्य मुलुकमा आयोजना गर्ने र अन्तर्राष्ट्रिय सम्मेलन तथा मेलामा सहभागी हुने बताए ।

साधारण सभाले अघिल्लो कार्यसमितिका कोषाध्यक्ष र सचिवले प्रस्तुत गरेको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । साधारण सभाको सहजीकरण एमच्याम सचिवालयका प्रमुख अमिरराज थापाले गरेका थिए ।

एमच्याम स्थापनाले छरिएर रहेका व्यवसायीलाई संगठित गर्ने काम भएको थियो । संस्थापक अध्यक्ष शाहको दुई वर्षे कार्यकालमा एमच्याममा ४५ व्यवसाय आबद्ध भइसकेका छन् ।

यस्तै एमच्याम स्थापनाको दुई वर्षभित्रै नेपालभन्दा ८ सय गुणा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ‘अमेरिकन च्याम्बर अफ कमर्स’सँग संघको आबद्धता प्राप्त गर्नु शाह कार्यकालको महत्वपूर्ण उपलब्धि हो । जसले नेपालमा अमेरिकी लगानीको सम्भावनासमेत थप बढाएको छ ।

यससँगै एमच्याम नेपाल अमेरिकन च्याम्बर अफ कमर्सको विश्वव्यापी नेटवर्कको १३०औं सदस्य बनेको छ ।

यस्तै एमच्यामले व्यवसाय प्रवर्धनका निम्ति मेम्बरसिप लर्निङ सिरिज सञ्चालन गर्दै आएको छ । जसले सदस्यहरूबीच नेटवर्किङ, फेलोसिप तथा एकअर्काका व्यवसायबारे नजिकबाट बुझ्ने र सहकार्य गर्नेसमेत अवसर पाएका छन् ।

संघकै पहलमा अमेरिकी लगानी नेपालमा भित्र्याएका व्यवसायी र नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिबीच छलफल भएको छ । जसले मुलुकमा लगानीको वातावरण राम्रो बनाउन ठूलो भूमिका खेलेको संघले जनाएको छ ।

अमेरिकी सहयोग नियोग (यूएसएड) तथा विभिन्न संस्थासँग व्यावसायिक साझेदारी गर्दै अगाडि बढेको शाहले बताए । उनले सन् २०२४ जुनमा नेपालका निजी कम्पनीलाई अमेरिकामा लगानी तथा उद्यमसम्बन्धी कार्यक्रममा सहभागी गराउने र डिसेम्बरमा अमेरिकाको निजी क्षेत्रका प्रतिनिधिलाई नेपालमा बोलाएर कार्यक्रम गर्ने जानकारी दिए । यसका लागि अन्य संस्थाहरूसँग पनि सहकार्य गरेर अगाडि बढ्ने एमच्यामको योजना छ ।


क्लिकमान्डु