‘बजेट बनाउँदा कनिका छर्ने शैलीको अन्त्य गर्न आयोजना बैंक’



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेट बनाउँदा कनिका छर्ने शैलीको अन्त्य गर्न आयोजना बैंकमार्फत विकासको कार्यलाई तीव्रता दिइने बताएका छन् ।

 प्रदेश योजना आयोगद्वारा आयोजित प्रदेशस्तरीय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरणमा आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका कार्कीले प्रदेश बनाउनका लागि यस्तो योजनाका साथ सरकार अघि बढेको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले कामको गतिलाई तीव्रता दिई जनतालाई विकासको अनुभूति  गराएर प्रदेशमा समृद्धि कायम हुने विश्वास व्यक्त गरे । प्रदेश सरकारको उद्देश्य पूरा गर्न कर्मचारीले दबाब र प्रभावमा नपरी कार्य गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिए ।

प्रदेश योजना आयोगले वित्तीय अनुशासन कायम गरी बैंकको नीति पालना गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । प्रदेशसभा सदस्यले २५ लाखभन्दा कमका योजना बजेटमा समावेश नगर्न अभिमुखीकरण कार्यक्रम गरिने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाए ।

भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले केन्द्रमुखी र नेतामुखी  योजना नराखी निश्चित मापदण्ड बनाउनुपर्ने तर्क गरे । उनले किफायती रुपमा विकासका योजना सम्पन्न गर्न बैंक सहयोगी हुने चर्चा गर्दै बहुवर्षीय वा क्रमागत योजना चार वर्षमा सम्पन्न गर्नेगरी व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले आयोजना बैंकको कार्यविधि कार्यान्वयनमा आएको जानकारी दिँदै स्रोतलाई अधिकतम प्रयोग गरी सुशासन कायम गर्न सहयोग पुग्ने विचार राखे ।

प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले बैंकमार्फत गरिने कार्यले विकासको लक्ष्य आम जनसमुदायसमक्ष पुग्ने विश्वास व्यक्त्त गरे । आइटि विज्ञ डा. गणेश गौतमले आयोजना बैंकको कार्यपत्र प्रस्तुत गर्दै आयोजनाको तथ्यपरक मूल्यांकन, नवीनतम् प्रविधिको प्रयोग, समयको बचत तथा प्रदेशको विकासको रणनीतिमा महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।


क्लिकमान्डु