एनसेलको सेयर खरिद-बिक्री अध्ययन तथा छानबिन समितिले थाल्यो काम
काठमाडौं । सरकारले गठन गरेको एनसेलको सेयर खरिद-बिक्री अध्ययन तथा छानबिन समितिले आइतबारदेखि काम थालेको छ । समितिले सरकारबाट प्राप्त कार्यादेशभित्र रहेर तोकिएको समय सीमाभित्रै अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी काम थालेको जनाएको छ ।
मन्त्रिपरिषद्को मंसिर २१ को बैठकले एनसेनको सेयर खरिद-बिक्रीको सम्बन्धमा प्रचलित नेपाल कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असरलगायतका विषय अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो ।
संयोजक शर्मा दंगालले प्रेस विज्ञप्ति जारी गरी अध्ययन तथा छानबिनका क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारीहरु, सम्बन्धित सेवाप्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघसंस्था र व्यक्तिहरुसँग समेत आवश्कयताअनुसार छलफल गरी रायसुझाव प्राप्त गर्ने जानकारी दिए ।
समितिले एनसेलको सेयर खरिद-बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाण भएमा समितिको आधिकारिक इमेल ठेगानामा वा समितिको सचिवालयमा उपलब्ध गराई अध्ययन तथा छानबिनमा सहयोग गर्न सम्बन्धित सरोकारवाला व्यक्ति, संस्था, सञ्चारकर्मी र नागरिकमा पनि आह्वान गरेको छ ।