एनसेलको सेयर बिक्रीविरुद्ध सर्वोच्चमा दायर रिट हेर्न नभ्याइनेमा



काठमाडौँ । एनसेलको सेयर खरिद प्रकरणविरुद्ध सर्वोच्च अदालतमा दायर रिट हेर्न नभ्याइनेमा परेको छ ।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो । प्रतिनिधि सभाका सांसद अमरेश सिंहले आजियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्नु अवैधानिक रहेको भन्दै सांसद सिंहले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

यसअघि उच्च अदालत पाटनले एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु मंसिर २५सम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

यसअघि गत मंगलबार एनसेल आजियाटा लिमिटेडको आयकरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको थियो । सर्वोच्च अदालतमा विचाराधीन एनसेलको आयकरसम्बन्धी मुद्दा गोलाप्रथाका क्रममै स्थगित सूचीमा परेको थियो ।


क्लिकमान्डु