पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन
विराटनगर । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतिले कर्मचारीलाई आफ्नो क्षमता तथा दक्षता वृद्धि गरी सिर्जनशीलका साथ आफ्नो जिम्मेवारी सम्पन्न गर्न, वित्तीय अनुशानस कायम गर्न, प्राकृतिक स्रोतको संरक्षण गर्न र पर्यटन प्रवद्र्धनका लागि कार्य योजना तयार गर्न निर्देशन दिएका छन् ।
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका निकायको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतिले उक्त निर्देशन दिएका हुन् ।
समीक्षा कार्यक्रममा प्रदेश वन निर्देशनालय, धरानद्वारा आयोजित कार्यक्रममा मन्त्रालयअन्तर्गतको वन निर्देशनालय, पर्यटन विकास आयोजना, जलाधार व्यवस्थापन कार्यालय धनकुटा र ओखलढुङ्गा, पर्यटन कार्यालय धरान र काँकडभिट्टा, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, प्रदेशका १५ वटा डिभिजन वन कार्यालय तथा सङ्घीय सरकारअन्तर्गतका वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र, चुरे उत्थानशील आयोजनाले आ–आफ्नै कार्यपत्र प्रस्तुत गरेका थिए ।
मन्त्रालयका सचिव विशाल घिमिरेले समग्र पर्यटन, वन, वातावरण, भू–संरक्षण, जैविक विविधता संरक्षण, मानव वन्यजन्तु द्वन्द्वबारे मन्तव्य राख्दै चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रम बेरुजु नहुने गरी पारदर्शिताका साथ सम्पन्न गर्न कार्यालयहरुलाई निर्देशन दिए । उनले कर्मचारीको न्यायोचित व्यवस्थापन गरी मौजुदा जनशक्तिबाट उच्चतम प्रतिफल आउने गरी काम गर्न आग्रह गरे ।