परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, नेपाली विद्यार्थी जोशीको रिहाईका लागि पहल गरिने
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन् ।
उनी दोहा २१ औँ सम्मेलनमा सहभागी हुन शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री साउद शनिबार बिहान ७:४५ बजे कतार एयरलाइन्सको विमानबाट दोहा प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री साउदले डिसेम्बर आइतबारदेखि कतारमा सुरु हुन लागेको दोहा २१ औँ फोरममा सहभागी हुन दोहो प्रस्थान गरेका छन् । साउदले उच्चस्तरीय भेटमा इजरायलमा वेपता भएका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने एजेण्डा छ ।
कतार रहँदा हुने उच्चस्तरीय भेटमा उनले इजरायलमा हमासले नियन्त्रणमा लिएका विपिन जोशीको रिहाइका लागि आग्रह गर्ने विषय अत्यन्तै प्राथमिकतामा राखिरएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।
कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल -मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ।
मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए ।
परराष्ट्रमन्त्री साउदले शुक्रवारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए ।
उनले शुक्रबार दिउँसो हर्चसँग सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने अथक प्रयासकै निरन्तरता स्वरुप टेलिफोन संवाद गरेका थिए ।
संवादका क्रममा मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत् यकिन गरिदिन, उनलाई सुरक्षाको प्रत्याभूति दिलाइदिन र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा पहिलो चरणमा नै जोशीलाई प्राथमिकतामा राखिदिन आग्रह गरे ।
परराष्ट्रमन्त्री साउदले नेपालको इजरायलसँगको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि बताए । जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्यजस्तो मानेको र उनको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन व्यक्त गरे ।
यसअघि परराष्ट्रमन्त्री साउदले गत मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए ।
जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए । नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको उनको भनाइ थियो।