दुर्गा प्रसाईंलाई गभर्नरको चेतावनीः नियतबस बैंकको ऋण नतिर्ने र नतिर्न उक्साउनेलाई कारबाही हुन्छ



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण नतिर्नु भन्दै ऋणीलाई उक्साउँदै हिँड्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले वित्तीय क्षेत्रमा अराजकता निम्त्याउन खोज्नेलाई कडा कारबाहीको चेतावनी दिएका हुन् ।

‘वित्तीय क्षेत्रमा नियतबस कर्जा नतिर्ने र कर्जा नतिर्न उक्साउने समस्याको रुपमा आइरहेको छ, कतिपय उत्श्रंखल गतिविधिहरु पनि भइरहेका छन्,’ गभर्नर अधिकारीले भने, ‘ऋण लिएपछि तिर्नैपर्छ, नियतबस ऋण नतिर्ने र नतिर्न उक्साउनेप्रति कडा भएर प्रस्तुत हुन्छौं । कारबाही प्रभावकारी बनाउँछौं ।’

यस्तो उत्श्रंखल गतिविधि रोक्न नेपाल राष्ट्र बैंक कडारुपमा प्रस्तुत हुनुपर्ने महशुस गरेर त्यस्ता ऋणीसँग कडा भएर असूली गर्ने रणनीति बनाएको उनले बताए ।

तर, असल नियत हुँदाहुँदै पनि ऋण तिर्न वास्तविक समस्यामा परेका ऋणीलाई भने केही सहजिकरणको व्यवस्था गरिएको उनको भनाइ छ ।

‘कोही ऋणीहरु परिस्थितिजन्य कारणले समस्यामा परेका छन् भने त्यस्ता ऋणीहरुलाई कर्जाको पुनःसंरचना र पुनःतालिकीकरणका लागि सहजिकरण गर्ने व्यवस्था गरेका छौं ।’

बैंकको झन्डै ६ अर्ब रुपैयाँ ऋण लिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय बैंक विरुद्ध उत्श्रंखल गतिविधि गरिरहेका छन् । प्रसाईंले कर्जा असूली गर्न आउने बैंकका कर्मचारीलाई कालोमोसो दल्ने र कुटपिट गर्ने धम्की दिँदै आएका छन्।

मंगलबार मात्रै प्रसाईंका कार्यकर्ता राकेश बाँस्कोटा नेतृत्वको ८/८ जनाको समूहले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बिर्तामोड शाखा उपप्रबन्धकलाई घरबाटै नियन्त्रणमा लिएर गालीगलौज तथा मानसिक यातना दिई प्रहरी चौकी पुर्याएका थिए ।

प्रसाईंले शाखा प्रबन्धकलाई टेलिफोनमा दिएको धम्की गभर्नर अधिकारी र गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष पनि पुगिसकेको छ । टेलिफोनमा भएको कुराकानीको अडियोमा प्रसाईंले ‘बैंकका कर्मचारीको घरमा र बैंकमा कुकर बम पड्काउनेदेखि टाउको छिनाउनेसम्म’का धम्की दिएका छन् । प्रसाईंले प्रत्येक बाक्यमा नेपाली समाजले पचाउनै नसक्ने शब्दहरु प्रयोग गरेका छन् । त्यतिमात्रै होइन, प्रसाईंका कार्यकर्ताले आफूहरुसँग जंगलमा बैंकका कर्मचारी थुन्ने जेल पनि भएको भन्दै बैंकका कर्मचारीलाई यातना दिने गरेका छन् ।

प्रसाईंको यस्तो धम्कीको अडियो सुनेका गभर्नर अधिकारीले उनी र उनको पछि लाग्ने ऋणीका विरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका हुन् ।


क्लिकमान्डु